ठेक्का लागेको सात वर्षमा लमजुङको एउटा पुलको बल्ल ढकान भएको छ । तर ढलान भएको छ महिना बितिसक्दा पनि बाँँकी काम पनि कहिले हुने भन्ने सुरसार अझै छैन । जिल्लाको बेंसीसहर नगरपालिका ११ चितीको चित्रे र दोर्दी गाउँपालिका ३ नौथर शेरा जोड्न दोर्दी खोलामा निर्माणाधीन पक्की पूलको कथा हो यो ।
सडक डिभिजन कार्यालय दमौलीले ठेक्का दिएर निर्माण हुन लागेको पुलको ठेक्का लगाएको छ वर्षपछि गत मङ्सिरमा ढलान भएको हो । त्यस यताको समयमा ठेकेदार र सडकका कर्मचारी यो पुलको नजिक पनि पर्न सकेका छैनन् । सडक डिभिजन कार्यालय दमौलीका अनुसार यो पुल निर्माण सम्झौता भएको दुई वर्षभित्र पुरा गरिसक्नु पर्ने सम्झौता हो । तर पछि म्याद थप्दै जाँदा छ बर्ष बितिसकेको छ ।
दोर्दी गाउँपालिका ४ नौथरका हेमबहादुर गुरुङले पूल ढलान लथालिङ्ग छोडको देख्दा यो देशमा काम गर्ने कर्मचारी, प्रहरी प्रशासन कोही नभएको भान भएको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो– ‘यो देशमा नियम कानून केही रहेन छ । कानून भएको भए । यस्तो ठग कर्मचारी र ठेकेदारलाई लाग्नु पर्ने हो नि ? खोई कानून त हामी जस्तो गरिव, निमुखाका लागि मात्र बनेको रहेछन् नि त ?
अर्का स्थानीय कृष्ण गुरुङले भन्नुभयो, हामी कति पटक दमौलीको सडक अफिसमा गयौँ । त्यहाँको इन्जिनियरले अब काम हुन्छ मात्र भन्ने गर्छ । तर ठेकेदार सँगै बसेर के के खाँदो रहेछ । हामी जस्तो सोझा साझा जनतालाई ठेकेदार र इन्जिनियर दुबैले ठगे । अब त बन्ला भनेको, अब नि नबन्ने नै भयो ।
दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले पनि ठेकेदार र सडक विभागका कर्मचारीले यहाँका बासिन्दालाई धोका दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो–दशैं अगाडि नै सक्छु भनेको तिहार गयो, पुस गयो अब त माघ पनि जान थालिसक्यो । ख्वै कोही चरो मुसो पनि देखिदैन ? पूल निर्माणमा खटिएका कामदारलाई तलव नदिएपछि कामदार नआउँदा निर्माण नभएको पो सुन्छु म त ।’
बि. सं २०६८ चैतमा शिलान्यास गरिएको पूल निर्माण गन हेटौंडाको सपना निर्माण सेवा र धादिङको जयबाबा निर्माण सेवाले संयुक्त रुपमा ठेक्का सम्झौता गरेका थिए ।