चरा अवलोकनका लागि ताल महोत्सव

काठमाडौँ । चराको अवलोकन गर्ने उद्धेश्यका साथ रुपन्देही जिल्लाको गजेडीमा १० औं दानापुर ताल महोत्सव सुरु भएको छ ।
तालमा आउने आगन्तुक चरा यही मौसममा आउने भएकोले ताल महोत्सव गरी आगन्तुकलाई आगन्तुक चरा अवलोकन गराइने भएको छ । समयमाई सामुदायिक वन उपभात्ता समूहले आयोजना गरेको ताल महोत्सवमा हजारौं दर्शकले स्थानीय प्रजातिका चरा अवलोकन गर्ने र चरा संरक्षणको साथै समग्र जैविक विविधता संरक्षणका लागि सहयोग सिद्ध हुने अपेक्षा राखिएको छ ।
पहिले पिकनिक खाने स्थानको रुपमा परिचित उक्त दानापुर ताल अहिले चरा अवलोकनका साथै तालमा बोटिङ गर्ने स्थानका रुपमा समेत ख्याति कमाउँदै गएको छ । ९२ विगाहा क्षेत्रफलमा फैलिएको तालमा नेपाल र भारतवाट समेत पर्यटकहरु तालको अवलोकनका लागि आउने गरेका छन् भने ताल क्षेत्रमा स्थानीय ३० प्रजातिका चराहरु समेत रहेको ताल महोत्सव आयोजक तथा ताल संरक्षणको नेतृत्व गर्दै आएको समयमाई सामुदायिक वन उपभोत्ता समितिका अध्यक्ष मिनवहादुर थापाले बताउनुभयो ।
ताल क्षेत्रमा स्थानीय माछा पनि पाइने र तालमा आउने पर्यटकले माछा मारेर स्थानीय माछाको स्वाद लिन पाउने भएकोले तालमा सार्वजनिक विदाको दिनमा स्थानीयहरुको बढी घुईचो लाग्ने गरेको छ ।
आइतवारदेखि सुरु भएको ताल महोत्सवमा मंगलबार साँझसम्म १५ हजार पर्यटकले अवलोकन गरेको अध्यक्ष थापाले बताउनुभयो । वन, वन्यजन्तु, सिमसार तथा पर्यापर्यटन क्षेत्रको उत्थान, राष्ट्रको निर्माण, समृद्धि र पहिचान भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा होटल तथा रेष्टुरेन्ट, विभिन्न जातीय तथा संस्कृति झल्किने परिकारसहित ४७ वटा स्टल राखिएको बरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद घर्तीले जानकारी दिनुभयो ।
ताल महोत्सवको अवलोकनका लागि आउनु भएका प्रदेश सभा सदस्य भूमिश्वर ढकालले तालको आकर्षण र समृद्धिको लागि कञ्चन गाउँपालिकाको मात्र नभै प्रदेश र संघको समेत दायित्व भएकोले प्रदेश सरकारले आवश्यक बजेट तर्जुमा गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here