काठमाडौँ । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा निर्माण भइरहेको ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजनाकोे निर्माण कार्य ७५ प्रतिशत पूरा भएको छ ।
आयोजनाका अनुसार हालसम्म हेडवक्र्स, पाइपलाइन र पावरहाउस तथा प्रसारण लाइनको निर्माण कार्य भइरहेको छ । आयोजना प्रवन्धक अनुप थापाका अनुसार आयोजनाको हेडवक्र्सतर्फ बाँध, इन्टेक, ग्राभेल, ट्रयाप, कनेक्टिङ क्यानल र डिस्यान्डर वेसीनको काम भइरहेको छ । हेडवक्र्समा कनेक्टीङ क्यानल र फोरवेको निर्माण कार्य सम्पन्न भइसकेको छ । खोलाको पानी अन्डर स्लुइसबाट पठाएर बाधको काम गरिरहेको छ । थापाले भन्नुभयो, आयोजनाको पेनस्टक पाइपतर्फ २ हजार २०० मिटर पाइप जडान भइरहेको छ भने पावरहाउसको पर्खाल तथा कोलमको ढलान गर्ने कार्य भइरहेको छ ।

पाइप फेब्रिकेशन गर्ने सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ । पावरहाउसको निर्माण कार्य गर्ने क्रममा मेसिन राख्नका लागि जग ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
प्रवन्धक थापाका अनुसार आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी सिंगटी सब स्टेसनबाट रााष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । उक्त प्रसारण लाइनको लागि आवश्यक जग्गा खरिद गरि सकिएको छ भने सार्वजनिक जग्गा नेपाल सरकारकारबाट वहालमा लिनका लागि आवश्यक प्रक्रिया अगाडी बढाइसकिएको छ ।

प्रसारण लाइनको जिम्मा पाएको मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रा.लिले १३२ केभी प्रसारण लाइनको निर्माणको लागि चेक सर्वे, टावर डिजाइन, फाउन्डेसन डिजाइन र माटोको परिक्षण समेत सम्पन्न भइसकेको छ । आयोजना बनाउन प्रति मेगावाट १८ करोड ५५ लाख रुपियाँका दरले २ अर्ब ४ करोड रुपियाँ लाग्ने आयोजनाका आयोजना प्रवन्धक थापाले बताउनुभयो ।
आयोजना निर्माणका लागि स्थानीयवासीबाट राम्रो सहयोग भएको छ । हाल यस आयोजनाले स्थानीय बासिन्दाको सुविधाका लागि सिंचाई,बाटो निर्माण, विद्यालय निर्माण लगायतका विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आइरहेको छ । यस आयोजनाबाट २०७६ साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।