फेवातालको आँगनमा यस वर्षको सिमसार दिवस

पोखरा । यस वर्षको सिमसार दिवस तालको शहर पोखरामा मनाइएको छ । शनिवार बिहान फेवातालको फोहोर सफा गरी सुरुवात गरिएको कार्यक्रममा पोखराका तालको अतिक्रमण हटाउन र सफा राख्न सहभागीहरुले जोड दिइएका छन् ।
सिमसार र जलवायु परिवर्तन भन्ने नारा रहेको यो वर्षको सिमसार दिवस पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारको वन तथा वातावरण मन्त्रालय गरी तीन तहको सरकारले संयुक्त रुपमा मनाएका छन् । सन् १९९७ साल देखि विश्व सिमसार दिवस मनाइदै आइएको छ भने नेपाल रामसार महासन्धीको पक्ष राष्ट्र भई नेपालका नौ वटा सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत गर्न सफल भएको छ ।


कार्यक्रममा संघीय वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री विकास लम्साल र पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले जलवायु परिवर्तनको असरसँग लड्न र पोखराका तालहरुको फोहोर र अतिक्रमण हटाउन एकीकृत रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

फेवाताल लगायतका पोखराका तालहरुको अतिक्रमणको समस्या र फोहोर व्यवस्थापनका लागि तीनै तहका सरकारका प्रतिनिधिले एक्यवद्धता जनाउनु नै पोखराको सन्देश प्रवाह भएको छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले सिमसार र जलवायु परितर्वनको असरका बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले पोखराका तालहरुको एकीकृत व्यवस्थापन कार्ययोजना सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि जलवायु परिवर्तन विषयका जानकार विषय विज्ञ, स्थानीय सरोकारवाला निकायका प्रतिनिधिहरुले छलफलमा भाग लिएका थिए ।


सो अवसरमा मन्त्री बस्नेतले रामसार क्षेत्रको घोषणा र व्यवस्थापन मार्गदर्शन पुस्तिकाको पनि विमोचन गर्नुभयो । मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीको सभापतित्वमा सम्पन्न विशेष कार्यक्रममा पोखराका तालहरुको उचित संरक्षण र व्यवस्थापनका लागि स्थानीय निकाय र प्रदेश सरकारले एकीकृत रुपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत जनाइयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here