नेपालका लागि छुट्यो विद्युतीय कार्गो

काठमाडौँ । यस अघि नेपाली उद्योगी र व्यवसायीले माग गर्दै आएको विद्युतीय कार्गो मालवाहक रेल कोलकाता बन्दरगाहबाट बीरगञ्जका लागि छुटेको छ ।

कोलकाता बन्दरगाहबाट ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम सुरु भएको छ । यसअघि विशाखापट्टनमबाट विद्युतीय कार्गो सुरु भएको थियो । बिसाखापट्टनबाट विगत आठ महिनादेखि निरन्तर विद्युतीय कार्गो वीरगन्जको सुक्खा बन्दरगाहका लागि छुट्दै आएको थियो ।

ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टमअन्तर्गत मालवाहक रेल कोलकाता बन्दरगाहबाट शुक्रवार साँझ वीरगन्जको सुक्खा बन्दरगाहका लागि हिँडिसकेको छ । कोलकाताबाट २० वटा कन्टेनर बोकेर मालवाहक रेलको विद्युतीय कार्गो सेवाको शुभारम्भ भएको कोलकातास्थित नेपालका महावाणिज्यदूत एकनारायण अर्यालले बताउनुभयो ।

नेपाल र भारतबीचको पारवहन र व्यापारमा विद्युतीय कार्गो प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने छ । कोलकाता बन्दरगाहले प्रत्येक कन्टेनरमा इलेक्ट्रोनिक डिभाइस लगाउने र एक डिभाइसको भारतीय रुपियाँ तिन हजार तिन सय नेपाली व्यवसायीले भुक्तानी गर्नुपर्ने हुन्छ । उक्त डिभाइस कन्टेनरमा लगाएपछि कोलकाता बन्दरगाहबाट छुटेको रेलको अवस्था सहजै बुझ्न सकिन्छ ।

कोलकाता बन्दरगाहबाट परम्परागत रूपमा सडक मार्गबाट कन्टेनर ल्याउँदा सिपिङ एजेन्सीको कोलकातास्थित परिसरमा २१ दिनभित्र कन्टेनर फिर्ता पठाइसक्नु पर्ने प्रावधान थियो । विशाखापट्टनमबाट ट्रान्ससिपमेन्ट मोडलमा ल्याउँदा त्यो झन्झट हटेको छ । २१ दिनभित्र कन्टेनर नपुगे दिनको ४५ देखि १०५ डलर प्रति कन्टेनर डिटेन्सन खर्च नेपाली व्यापारीले तिर्ने गरेका थिए । अब यो समस्याबाट व्यापारीहरुले मुक्ति पाउने भएका छन् । आयात गरिएको ढुवानी लागत पनि कम पर्न जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here