काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको प्रत्यक्ष प्रभाव त्यस वरपरीको क्षेत्रको विकासमा पर्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षणको लागि चितवनको पटिहानी क्षेत्रमा नेपालकै नमूना खुल्ला आकासे सडक (अम्रेला स्ट्रिट) बनाउन थालिएको छ । पटिहानी क्षेत्र निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ ।
महानगरपालिका २२ घड्गाई क्षेत्रमा त्यसको संरचना निर्माण गर्न लागि शुरुमा करिब तीन करोड रुपियाँ लगानी गरिने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुप्रसाद महतोका अनुसार १२ मिटर चौडा र १२० मिटर लम्वाईको अम्रेला स्ट्रिटको निर्माण शुभारम्भ भइसकेको छ । निर्माण क्षेत्रको भूईमा आकर्षक ढुङ्गा लगाइने ठाउँठाउँमा कुर्सी राखिने छन् । हरियालीसहितको पार्क बनाइने उक्त क्षेत्रको किनारमा आकर्षक छाता (अम्रेला) राखिएका खुल्ला पसलहरु रहनेछन् ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त स्थानबाट निकुञ्ज क्षेत्रको राप्ती नदी किनारमा आकर्षक दृष्यावलोकन केन्द्र (भ्यू प्वाइन्ट) बनाइने योजना रहेको छ । भ्यू प्वाइन्टमा एक पटकमा ३०० जना आरामले बस्न मिल्ने आकर्षक कुर्सी राखिने योजना रहेको छ ।
भ्यू प्वाइन्टबाट राप्ती नदीमा नै डुवेझै लाग्ने अस्ताउँदो सूर्यको दृष्यावलोकनका साथै राप्ती नदीमा विचरण गर्दै गरेका विभिन्न प्रजातिका जलपंक्षी, लोपोन्मुख घडीयाल गोही, एक सिंगे गैंडालगायतका जंगली जनावर अवलोकन गर्न सकिनेछ । हाल पटिहानीको पारिपटी रहेको क्षेत्रमा हात्ती सफारीमा रोक लगाइएको छ । उक्त क्षेत्रबाट जंगली हात्ती र गैडाहरु राप्ती किनारामा आउने गरेको स्थानीय होटल ब्यवसायीहरुको भनाइ छ ।
स्ट्रिटभित्र सवारी साधनल प्रवेश बन्देज गरिने छ । बाहिरबाट गएका सवारी साधन पार्किङका लागि नजिकै सार्वजनिक जग्गाको खोजी भइरहेको अध्यक्ष महतोले बताउनुभयो । वडाध्यक्ष महतोले विदेशको समुन्द्री किनार जस्तै पर्यटकलाई दुई घण्टा समय व्यतित गर्न मिल्ने गरि निर्माण हुन लागेको स्ट्रिटमा सेल्फि प्वाइन्ट, भ्यू प्वाइन्ट, महिलामैत्री, अपाङ्ग मैत्री शौचालयको व्यवस्था गरिने भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले अम्रेला स्ट्रिट निर्माणबाट चितवनको पर्यापर्यटनको प्रवद्र्धन हुने बताउनुभयो । उहाँले यस्ता संरचना निर्माणले चितवन आउने पर्यटकको समय लम्ब्याउन सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।