दान पाए गैँडाको गणना

काठमाडौँ । विश्वमै दुर्लभ मानिएको एक सिँगै गैँडाका लागि नेपाल उपर्युक्त बासस्थान मानिन्छ । यही वर्ष गैँडाको गणना गर्ने योजना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बनाएको छ तर बजेट भने छैन ।

सन् २०१५ मा यस अघि गैँडाको गणना गरिएको थियो । त्यति बेला गैँडाको संख्या ६४५ रहेको थियो । जसमध्य ६०५ वटा गैँडा त चितवनमा मात्र गणना भएका थिए । गैँडा संरक्षणका लागि नेपालले लगातार जिरो पोचिङको वर्ष मनाइरहेको छ ।

यो अवधिमा गैँडाको संख्या बढेको अनुमान गरिएको छ । गत वर्ष नारायणी नदीमा आएको बाढीले कति गैँडा बगाएर भारत पुर्याएको थियो, केहीको त उद्धार गरियो तर पनि कति क्षति भयो भन्नका लागि पनि गणना आवश्यक छ ।

Source: WWF Nepal

यो वर्षको बर्खा नलाग्दै गैँडा गणना गरिसक्ने योजना विभागले बनाएको योजना विभागका महानिर्देशक मनबहादुर खड्काले सुनाउनुभयो । तर उहाँका अनुसार गणना गर्ने रकम विभागसँग छैन । बर्खा लागि सकेपछि गणना गर्न नसकिने भएकाले दाताले चाँडो रकमको व्यवस्थापन गरिदिए हुन्थ्यो भन्नेमा विभाग रहेको छ ।

उहाँले नेपालकथासँग भन्नुभयो, रकम छैन । दाताहरुले दिए गणना गर्न सकिन्छ कि भनेर विश्व वन्यजन्तु कोष र जेडएसएलसँग आग्रह गरिएको छ । उहाँहरुबाट पनि रकम खोज्न सकिने वचन पाएका छौँ ।

महानिर्देशक खड्काका अनुसार चितवन, पर्साको पश्चिमी भाग, बर्दिया र शुक्लफाँटामा गणना गर्न कम्तिमा एक करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । एक महिनासम्म हात्तीको सहयतामा गणना गर्ने योजना विभागले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here