काठमाडौँ । कर्णाली प्रदेशको नयाँ जिल्ला रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका ९ भेडाखेतमा प्रदेशभरिकै सबैभन्दा बढी क्षमताको विद्युत् सब स्टेसन बन्ने भएको छ ।
कर्णाली प्रदेशमा उत्पादित बिजुलीलाई केन्द्रीय प्रशारण लाइनमा जोड्नका लागि ४०० केभी क्षमताका सवस्टेशन निर्माण हुने भएको हो । सवस्टेशन निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भइसकेको छ । स्थानीय ७६ घरपरिवारको करिव ११३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
अधिग्रहण गरिने जग्गाको वास्तविक मूल्याङ्कन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा निर्धारण उपसमिति गठन गरिएको छ । सो समितिमा जिल्लास्थित मालपोत, नापी, स्थानीय जनप्रतिनिधि र आयोजनाका प्रतिनिधि रहेको एक उपसमिति बनाइएको हो । उपसमितिले प्रचलित कानुन र स्थानीयसँग परामर्शमा प्रतिवेदन तयार गर्ने सोही प्रतिवेदनका आधारमा समितिको बैठकबाट यसको टुंगो लगाइने भएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी संयोजक रहने व्यवस्था छ । जग्गा प्राप्ति ऐनअनुसार जग्गादाताको व्यक्तिगत खातामै पुँजीगत लाभकरको हिसाब गरेर रकम जम्मा गरिने भएको छ ।
आयोजनाका प्रवन्धक एवम् विद्युत् प्राधिकरणका इन्जिनियर बलभद्र गिरीका अनुसार चालु आर्थिक वर्षमा मुआब्जा प्रदान गरेर जग्गा अधिग्रहण गरिसक्ने योजना रहेकोे छ । जग्गा अधिग्रहणपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका साथै वातावरणीय अध्ययन गरिनेछ ।
छिमेकी जिल्ला जाजरकोटमा निर्माण हुने नलसिंहगाड जलविद्युत् आयोजनालाई यस सबस्टेशनमार्फत केन्द्रीय लाइनमा जोड्ने सरकारको योजना रहेको छ । उक्त आयोजना निर्माणको काम ढिलाई भएकोले त्यसको भविष्यसँग यस सब स्टेसनको भविष्य जोडिएको इन्जिनियर गिरीले बताउनुभयो ।