सिन्धुपाल्चोक । गत २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र भोटेकोसी बाढीका कारण बन्द रहेको तातोपानी नाका आगामी वैशाखदेखि खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताउनु भएको छ ।
तातोपानी नाकाको निरीक्षण गर्दै मन्त्री महासेठले यस्तो आश्वासन दिनु भएको हो । तातोपानीवासीलाई आश्वासन दिँदै मन्त्री महासेठले भन्नुभयो – आउँदो वैशाखदेखि जसरी तातोपानी नाका खुल्छ, खुल्छ, खुल्छ । नाका खुल्न कुनै जेठ कुर्न नपर्ने उहाँले विश्वास दिलाउनुभयो । क्षतविक्षत भएको बाह्रबिसे–तातोपानी सडक मर्मत सम्भार गरेर पूर्ण रुपमा सडक सञ्चालन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
तातोपानी क्षेत्र छोडेर राजधानी र अन्यत्र गएर बसेका तातोपानीबासीलाई आफ्नो ठाउँमा फर्कन आग्रह गर्दै उहाँले भन्नुभयो– नाका खुल्छ, तपाईँहरु फर्कनुहोस्, आफ्नो घर सिंगार्नुहोस् ।
नाकामा पूर्ण सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकार लागि परेको पनि मन्त्री महासेठले बताउनुभयो । परराष्ट्र मन्त्रालयले नाका र दुई देशबीच सुरक्षा सम्बन्धी काम गर्न विभिन्न कार्य गरिरहेको पनि उहाँले बताउनुभयो ।
मन्त्री महासेठले बाह्रबिसेदेखि तातोपानीसम्मको सडक स्तरोन्नति गर्न र ठाउँ ठाउँमा बाढीले बगाएको मोटरेबल पुल पुनर्निर्माणका डिजाइनमा लागेको बताउनु भयो । मुलुकको अर्थतन्त्र र स्थानीयको रोजीरोटीका लागि नेपाल सरकारले तातोपानी नाका जसरी पनि खुलाउनेमा शङ्का नगर्न पनि उहाँले अनुरोध गर्नुभयो ।
प्रतिनिधि सभाका सांसद अग्नि सापकोटाले तातोपानी नाका खुलाउनेबारे सरकार र सदनमा दर्जनौं पटक बोलेको बताउनु भयो । पहिला तातोपानी नाका खुलाइन्छ अनि अन्य विकासका काम पनि थाल्ने उहाँले बताउनु भयो ।
भोटेकोसी गाउँपालिका २ तातोपानीका वडा अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले तातोपानी क्षेत्रका ९९ प्रतिशत स्थानीय नाका आश्रित भएको बताउनुभयो । उहाँको अनुसार नाका बन्द हुँदा तातोपानीका हजारौं स्थानीय काठमाडौं गएर रोजिरोटी गर्न बाध्य भएको र सयौं स्थानीय बैदेशिक रोजगारमा गएको उल्ल्ेख गर्नुभयो ।
भूकम्पपछि बन्द भएको तातोपानी नाकाका कारण वर्षेनी करोडौं राजस्व गुम्दै आएको छ । नाकासँग आश्रित हजारौं व्यापारी, व्यवसायी, मजदुर विस्थापित भएका छन् ।