नेपालगञ्ज जाँदै हुनुहुन्छ भने शौचालय जानुहोस् है

नेपालगञ्ज । सामान्यतया शौचालय भनेपछि अन्य ठाउँभन्दा दुर्गन्धित र फोहोर स्थानका रुपमा लिइन्छ । शौचालय वरीपरीको वातावरण पनि प्रदुषणका दृष्टिले त्यति राम्रो मानिदैन । कतिपय मानिसलाई शौचालयमा बस्दा दिक्क समेत लाग्ने गर्छ । यिनै कुरालाई ध्यान दिएर नेपालगञ्ज उपमहानगरपालिकाले शौचालय भित्र सुगन्धित वातावरणमा सङ्गीतका धुन बजाएर शौच गर्ने व्यवस्था मिलाउने भएको छ ।

यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले छिट्टै अत्याधुनिक डिजिटल शौचालय नेपालगञ्जमा स्थापना गर्दैछ । नेपालगञ्जको केन्द्र धम्बोझी चोक नजिक स्थापना हुन लागेको डिजिटल शौचालयमा सुगन्धित वातावरणमा सङ्गीतको आनन्द लिँदै आरामका साथ शौच गर्न पाउने व्यवस्था उपमहानगरपालिकाले ल्याएको छ । धम्बोझी चोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा डिजिटल शौचालय स्थापना हुनेछ ।

एकपटकमा सात जनाले शौचालय प्रयोग गर्न मिल्ने आधुनिक प्रविधि जडान भएको डिजिटल शौचालय १०–१५ दिनमै सर्वसाधरणका लागि खुला गर्ने तयारी उपमहानगरपालिकाले गरेको छ । उपमहानगरपालिका र एसएनभीको संयुक्त पहलमा डिजिटल शौचालय निर्माण गर्ने कार्य भइरहेको छ ।

उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा

उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाका अनुसार शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लैजान सकिने डिजिटल शौचालयको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाको पाँच लाख रुपियाँ तथा एसएनभीको ४५ लाख रुपियाँ गरी कुल ५० लाख रुपियाँको लागतमा बन्ने डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिनेछ ।

अपाङ्गता भएका व्यक्ति तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता (अपाङ्गता भएका व्यक्ति) भएका व्यक्तिले शौच गर्न सक्ने गरी शौचालय निर्माण भइरहेको छ ।

पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी र साबुन नभए शौचालयको ढोका खुल्दैन । यो शौचालय देशकै पहिलो डिजिटल शौचालय भएको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here