२८ करोडको सुन्तला बिक्री !

तनहुँ । तनहुँ जिल्लामा यस वर्ष रु २७ करोड ७५ लाख मूल्य बराबरको सुन्तला विक्री भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

गत वर्षको तुलनामा रु एक करोड १० लाख मूल्य बराबरको बढी सुन्तला विक्री भएको छ । गत वर्ष रु २६ करोड ६५ लाख मूल्य बराबरको सुन्तला विक्री भएको ज्ञान केन्द्रले जनाएको छ ।

सुन्तलाका लागि यस वर्ष वातावरण अनुकुल भएपछि सुन्तला उत्पादनमा समेत वृद्धि भएको केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताउनुभयो । उहाँका अनुसार किसानमा सचेतना, मल बीउको सहज उपलब्धता, समयमै गोडमेल गरेका कारणले सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष जिल्लामा ६ हजार ९ सय ३८ मेट्रिक टन सुन्तला बिक्री भएको छ भने गत वर्ष ६ हजार ५ सय ४६ मेट्रिक टन सुन्तला बिक्री भएको थियो । किसानले बगानबाटै प्रतिकिलो औसत रु ४० को दरले सुन्तला विक्री भएका छन् । जिल्लामा यो वर्ष एक हजार ४ सय ७७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको केन्द्रले जनाएको छ ।

जिल्लाको आँबुखैरेनी, बन्दीपुर, जामुने, पुर्कोट, देउराली, वैदी, छिपछिपे, नाम्सीकोट, भानुमति, तनहुँसुर, बेनीकोट सुन्तला उत्पादनका लागि पकेट क्षेत्र हुन् ।

जिल्लामा उत्पादित सुन्तला काठमाडौ, पोखरा, नारायणगढ लगायतका ठाउँमा विक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला विक्री हुने गरेको किसानहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here