एक करोड १५ लाखको योजना बत्ती नबाल्दै बन्द

काठमाडौँ । नेपालमा योजना बन्छन् तर बनेपछि कतिखेर बिग्रन्छन् ? भत्किन्छन् ? त्यसको कुनै ग्यारेन्टी हुँदैन । बनेको आयोजनाको गुणस्तर के हुने भन्ने अनुगमन नभएर नै होला, करोडौँको योजना बन्छन् तर भोलीपल्ट ती योजनाले सेवा दिनुको सट्टा बिग्रेको भेटिन्छन् ।

कुरो मकवानपुर जिल्लाको हो । जिल्लाको बागमति गाउँपालिकामा १ करोड १५ लाख रुपियाँमा निर्माण गरिएको वायु सौर्य मिश्रित ( विन्ड सोलार ) आयोजना विगत छ महिनादेखि बन्द भएको अवस्थामा छ । गाँउपालिका–५ भोर्लेनीमा स्थापित उक्त आयोजना नेपालको दोस्रो वायु सौर्य मिश्रित आयोजना हो । आयोजनाको ब्याट्री पड्किएको र उपकरणको मर्मत सम्भार नगर्दा आयोजनाको काम ठप्प भएको हो ।

भोर्लेनी वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर घलानका अनुसार २०७२ सालमा निर्माण गरिएको २५ किलोवाट क्षमताको आयोजनामा सौर्य शक्तिबाट १५ किलोवाट र हावाबाट १० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो । आयोजना सञ्चालन भएदेखि नै समस्या थियो । आयोजनामा जडान गरिएका १०० ब्याट्रीमध्ये ४० ब्याट्री मात्र काम लाग्ने थिए । गत असोजमा ती ४० ब्याट्री पनि पड्किएपछि आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।

उपभोक्ता समितिको लामो मागपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट प्राविधिकरूपमा आयोजनाको निरीक्षण भएको थियो । केन्द्रका प्राविधिकका अनुसार त्यस क्षेत्रमा विद्युत् सेवा गइसकेकाले आयोजनाको इन्भर्टर र ब्याट्री लगायतका उपकरण परिवर्तन गरी सञ्चालन गरिने र उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन (ग्रिड) मा जोडिने छ ।

१३१ परिवार लाभान्वित हुँदै आएको आयोजनाबाट त्यस क्षेत्रमा राति पाँच घण्टा सौर्य विद्युत वितरण हँुदै आएको थियो । प्राविधिकका अनुसार एशियाली विकास बैंकको सहयोगमा आयोजनाको स्तरोन्नति गरेर विद्युत ग्रिडमा जोड्ने गरी काम हुने बताइएको छ ।
यसअघि नवलपरासीको धौवादीमा वायुसौर्य मिश्रित आयोजना निर्माण गरिएको थियो । हेटौँडादेखि पूर्वी क्षेत्रमा पर्ने बागमतीको भोर्लेनीमा साँझपख निरन्तर हावा चल्ने भएकाले अनुसन्धानपछि त्यहाँ उक्त आयोजना निर्माण गरिएको समितिका अध्यक्ष घलानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here