मिटर ब्याजी धनगढीको व्यापारी प्रहरी फन्दामा

धनगढी । चेक अनादर भएपछि कारबाही हुने डरले अपहरणमा पारेको नाटक गर्ने धनगढीका एक मिटरव्याजी व्यापारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।
धनगढीमा मिटर व्याजको कारोवार गर्ने अनि ठग्ने धन्दामा संलग्न व्यक्तिहरुले अनेकौँ बहाना बनाउँदै लुक्ने, भाग्ने, ऋण तिर्नुको सट्टा साहुलाई धम्कयाउने, अपहरणको नाटक गर्ने जस्ता क्रियाकलापहरु यहाँ हुँदै आएका छन् ।

आरम्भ फैन्सी पसलका सञ्चालक ३९ वर्षीय जगतबहादुर सिंहलाई प्रहरीले भारतको पञ्जाबस्थित लुधियानाबाट पक्राउ गरेको हो । केही दिन अगाडि एकाएक वेपत्ता हुनु भएका सिंहले भारतीय नम्बरबाट घरमा फोन गरी आफू अपहरणमा परेको र छुट्नका लागि १५ लाख रुपियाँ आवश्यक रहेको भन्दै पैसा माग गर्नु भएको थियो । एनआइसी एसिया बैङ्कमा रहेको उहाँको खातामा त्यति नै रकम परिवारका सदस्यले जम्मासमेत गरि दिएका थिए । सिँह सेती अञ्चल अस्पतालका खरिदार समेत रहेको प्रहरीले जानकारी दिएको छ ।

घरको सदस्य अपहरणमा परेको भन्दै आफन्तले प्रहरीलाई खबर गरेपछि भारतीय प्रहरीसंग समन्वय गरी उहाँको खोजी गरिएको थियो । सिंहले प्रयोग गरेको फोन लोकेसन भारतको लुधियाना देखिएपछि प्रहरीले उहाँलाई फेला पार्न सफल भएको हो ।

सोधपुछको क्रममा व्यापारी सिंहले धनगढीकै एक व्यापारीसंग आफूले कर्जा लिएको र कर्जा तिर्न अनादर चेक दिएको स्वीकार्नु भएको छ । चेक अनादर भएपछि कारबाही हुने डरले उहाँ भारततर्फ भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here