तीन वर्षभित्र सबै गाउँपालिकामा फ्री वाईफाई

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स प्रालिले आगामी तिन वर्षभित्र देशभरका सबै गाउँपालिकामा फ्री वाईफाई वितरण गर्ने भएको छ ।
कम्पनीको सेवासुविधा तथा योजनाबारे जानकारी दिन आयोजित कार्यक्रममा वर्ल्डलिंक का अध्यक्ष दिलिप अग्रवालले सन् २०२२ सम्म देशका हरेक गाउँपालिकामा एफटीटीएच सेवा पुर्याइसक्ने बताएका हुन् ।

‘वल्र्ललिंकले अहिले देशका ७० जिल्लामा वायरलेसका साथै एफटीटीएचमार्फत सेवा दिइरहेको छ’, अग्रवालले भने, ‘आउँदो तीन वर्षमा हामी हरेक गाउँपालिकासम्म एफटीटीएचमार्फत सेवा उपलब्ध गराउने योजनाका साथ काम गरिरहेका छौं ।’ कम्पनीका कार्यकारी निर्देशक केशव नेपालले कम्पनीले एक वर्षभित्र सार्वजनिक स्थानमा १० हजार निःशुल्क हटस्पट उपलब्ध गराउनेछ । अहिले तीन हजार निःशुल्क हटस्पट सेवा उपलब्ध गराइरहेको छ । साथै चार महिनामा कम्पनीले एक लाख इन्टरनेट पोर्ट थप्ने गरी तयार गरिरहेको उनले बताए ।

नेपालका अनुसार वर्ल्डलिंकको घरधुरी ग्राहक संख्या दुई लाख ८० हजार पुगेको छ । इन्टरनेटका साथै इन्टरनेट प्रोटोकल टीभी ९आईपीटीभी० सेवा पनि उपलब्ध गराउँदै आएको कम्पनीको आईपीटीभी ग्राहकसंख्या ८५ हजार छ । कम्पनीको व्यावयासिक ग्राहक संख्या सात हजार पाँच सय पुगिसकेको उनले बताए । नेपालका अनुसार नेपालको कुल इन्टरनेट ट्राफिकमध्ये ४५ प्रतिशत ट्राफिक भोलुम वर्ल्डलिंक को छ । कम्पनीले आर्थिक वर्ष २०७४/०७५ मा मात्रै रोयल्टी र आरटीडीएफ फन्डमा बुझाउनुपर्ने रकमसहित कुल १४ करोड ३३ लाखभन्दा बढी कर बुझाएको छ । दुरसञ्चार क्षेत्रमा सबैभन्दा बढी कर बुझाउने कम्पनीमा वर्ल्डलिंक तेस्रो नम्बरमा छ ।

कार्यक्रममा कम्पनीको पब्लिक वाइफाइ प्रोजेक्ट, वायर म्यानेजमेन्ट प्रोजेक्ट, कर्णाली प्रोजेक्ट, इन्टरनेटसम्बन्धी चेतनामूलक कार्यक्रम र हालमा सञ्चालित इन्टरनेटको नयाँ स्ट्यान्डर्ड प्रोडक्टलगायत विषयमा छलफल गरिएको छ । पब्लिक वाइफाइ प्रोजेक्टअन्तर्गत निःशुल्क रूपमा इन्टरनेटको पहुँचलाई पशुपति विकास क्षेत्र, बौद्घ, शंखपार्क, बालाजु बाइसधारा, स्वयम्भू, वसन्तपुर, एयरपोर्ट एवं पोखरा र वीरगञ्ज महानगरपालिका कार्यलयलगायतका महत्त्वपूर्ण स्थलमा नियमित रूपमा सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।

त्यसैगरी काठमाडौं सहरमा तारहरूको व्यवस्थापन गर्न अगाडि बढाइएको वायर म्यानेजमेन्ट प्रोजेक्टले अव्यवस्थित तारलाई व्यवस्थित गर्ने योजनाअनुरूप पहिलो चरणमा त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र दास्रो चरणमा बालुवाटारदेखि माइतिघरसम्मका क्षेत्रमा अव्यवस्थित तारलाई व्यवस्थित गर्ने योजना सुरु भएको छ । हालसम्म त्रिपुरेश्वरबाट पानिपोखरीसम्मको कार्य सम्पन्न भइसकेको र बाँकी काम निरन्तर अगाडि बढिरहेको वर्ल्डलिंक ले जानकारी गराएको छ ।

त्यस्तै कर्णाली प्रोजेक्टअन्तर्गत प्याकेज ए र प्याकेज बी गरी वर्ल्डलिंक इन्टरनेटलाई कर्णालीका विभिन्न क्षेत्रमा पुर्याई त्यहाँको जनमानसलाई इन्टरनेट सेवा प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार त्यसअन्तर्गत प्याकेज ए मा इन्टरनेट सेवालाई हुम्ला, जुम्ला, डोल्पा र मुगुसम्म पुर्याइने कार्यको ५२ प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी कार्य अगाडि बढिरहेको जनाइएको छ । त्यस्तै, प्याकेज बी मा इन्टरनेट सेवालाई रोल्पा, रुकुम, जाजरकोट र कालिकोटसम्म पुर्याउने काम सम्पन्न भइसकेको छ । यस्तो किसिमको प्रोजेक्ट प्रदेश–४ का लमजुङ, तनहुँ, पर्वत, कास्की र स्याङ्जामा पनि सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here