कमलपोखरी ताल कि डम्पिङ साइट ?

दाङ । कुनै समय कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमलपोखरी ताल अहिले फोहोरको डंगुर थुपार्ने डम्पिङ साइट जस्तै भएको छ ।

पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण सो तालक्षेत्रमा घुम्न तुलसीपुर बजारसहित टाढा–टाढाबाट मानिस अहिले पनि आउने गर्दछन् तर, तालको संरक्षण तथा पूर्वाधार कमजोर रहेको भन्दै यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुुपर्ने सुझाव दिएर फर्केने गरेका छन् । करीब एक बिघा क्षेत्रफलमा ताल रहे पनि अहिले त्यो साँधुरो हुनुका साथै धेरै भाग पुरिँदै गएको छ भने जलकुम्भी झारले समेत ढाकेको छ ।

करीब ९० वर्ष पहिले निर्माण गरिएको सो तालको संरक्षण स्थानीयवासीले गर्दै आए पनि बजेट अभावका कारण तालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकेका छैनन् । पोखरीको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका समाजसेवी तथा रजौरा निवासी ७० वर्षीय गोविन्दप्रसाद रजौरेले तालको उचित संरक्षण गरी यसलाई पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्ने बताउनुहुन्छ । “तुलसीपुर बजार क्षेत्रमा यस्तो ताल कहीँ छैन । यसलाई संरक्षण तथा पूर्वाधार निर्माण गर्ने सके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “यति पुरानो पोखरीको गाउँलेहरूले संरक्षण गरेर राखेका छाँै, तर सरकारी निकायबाट खासै पहल गरिएको छैन ।”

अर्का स्थानीय ४८ वर्षीय डिल्लीराज रजौरेले पोखरी संरक्षण गरेर त्यस क्षेत्रमा माछापालन, वनभोजस्थल, जलविहार तथा त्यहाँ जीवजन्तुको अवलोकन गर्न सकिने र यसबाट गाउँको मुहार नै फेर्न सकिने बताउनुभयो । कमलपोखरी टोल विकास संस्थाका अध्यक्ष दीपक न्यौपानेले कमलपोखरीको संरक्षणमा सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले यहाँका नागरिकको अथक श्रमदानले नै पोखरीलाई जीवन्त राख्न सकेको बताउनुभयो । तालको संरक्षण गरी सुरक्षाका लागि तालको छेउछेउमा पर्खाल लगाउन सके, त्यस क्षेत्रमा घुम्न आउने पर्यटकलाई पोखरी नजिकै बस्नका लागि सेट निर्माण गर्नसके, पुरिएको ताललाई उत्खनन गरी ढुङ्गाको व्यवस्था गर्नसके यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने उहाँको भनाइ थियो ।

यसैबीच उपमहानगरपालिका–६ का वडाध्यक्ष नवराज लामिछानेले कमलपोखरी तालको उचित संरक्षण गर्न आफू लाग्ने बताउनुभएको छ । उहाँले यसलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आफूले वडाबाट गुरुयोजना निर्माण गरिरहेको पनि बताउनुभयो ।

तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । नब्बे वर्ष पहिले रजौराका स्थानीयवासीले रजौरा, गोलौरा, डुम्रीगाउँलगायत गाउँका गाईवस्तुलाई गर्मीयाममा पानी खुवाउन आफँै श्रमदान गरी मानवनिर्मित जलभण्डारको व्यवस्था गरेका थिए । त्यस समयमा पानीको अभाव भएपछि गाउँलेले पनि सोही तालमा नुहाउने, कपडा धुने र भाँडाकुडा सफा गर्ने गरेको यहाँका थारू अगुवाहरू बताउँछन् । त्यसैलाई पछि पोखरीमा परिणत गरेका थिए । सो पोखरीमा कमलको फूल फुल्ने गर्दथ्यो । कमलफूल हेर्न र टिप्न गाउँगाउँबाट मानिस आउने गर्दथे । त्यसैले त्यस पोखरीको नाम कमलपोखरी राखिएको बताइएको छ । कमलपोखरी ताल तुलसीपुर बजारबाट डेढ किलोमिटर दक्षिणमा पर्ने रजौरा गाउँबाट ५०० मिटर पश्चिममा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here