रुकुम । भारी हिमपात र वर्षाका कारण अवरुद्ध भएको शहीदमार्ग पुनः सञ्चालन भएको छ । सडकमा हिउँ जमेपछि पुसको तेस्रो सातादेखि अवरुद्ध शहीदमार्ग हप्ता दिनयता पानी पर्न छाडेपछि सञ्चालनमा आएको हो ।
शहीदमार्ग खुलेपछि विशेषगरी भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकावासीलाई यात्रामा सहज भएको छ । शहीदमार्ग भएर भुमेको काँक्रीबाट जिल्लाको महत, रोल्पाको थवाङ हँुदै घोराही, नेपालगञ्ज, काठमाडाँै पुग्न यात्रुलाई सहज भएको छ ।
काँक्रीबाट शहीदमार्ग भएर घोराही जाँदा १५५ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । तर, शहीदमार्ग अवरुद्ध भएपछि रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग भएर घोराही पुग्दा २१० किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको थियो । शहीदमार्ग खुलेसँगै लामो बाटो प्रयोग गरी यात्रा गर्नुपर्ने बाध्यता टरेको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । काँक्रीबाट घोराही र घोराहीबाट काँक्रीका लागि दैनिक एक/एक गाडी सञ्चालन हँुदै आएका छन् ।