ताप्लेजुङ । चोरी शिकार नियन्त्रण गर्न ताप्लेजुङमा प्रहरीले दश थान अवैध भरुवा बन्दुक बरामत गरेको छ ।
जिल्लाको उत्तरी फक्ताङ्लुङ गाउँपालिकाबाट प्रहरीले उक्त बन्दुकहरु बरामत गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार भरुवा बन्दुक विशेष गरेर शिकार गर्ने व्यक्तिहरुबाट बरामत भएका गरिएका हुन । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले फक्ताङ्लुङ गाउँपालिका वडा नं. २ खेजेनिम, वडा नं. ३ लिङ्खिम र वडा नं. ४ इखाबुबाट सो हतियारहरु बरामत गरिएको जानकारी दिनुभयो ।
डीएसपी थापाका अनुसार बरामत भएका हतियारमध्ये केही हतियारधनी आफैंले प्रहरीलाई बुझाएका छन् भने केही हतियार भएको सूचनाका आधारमा प्रहरी पुगेर सङ्कलन गरिएका हुन् ।
जिल्लामा भएका अवैध (बन्दुक) हतियारहरुका कारण वन्यजन्तु माथि सुरक्षा चुनौती बढेको साथै जथाभावी प्रयोगले गाउँघरमा झैँझकडामा ज्यान समेत जान थालेपछि जिल्ला सुरक्षा समितिले गाउँघरमा भएका हतियारहरु सङ्कलन गर्ने निर्णय गरेको छ । सर्वपक्षीय बैठक नै बोलाएर भरुवा बन्दुक लगायतका अवैध हतियारहरु सङ्कलन गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।
हतियार सङ्कलन गर्ने निर्णय भएपछि जिल्लाका सबै स्थानीय तहलाई पत्रचार गरी अवैध हतियार सङ्कलन अभियानमा सहयोग गर्न आग्रह गरिएको प्रजिअ भण्डारीले बताउनुभयो । उहाँले गाउँघरमा भएका अवैध हात हतियार सङ्कलन गर्ने अभियान थालेसँगै फक्ताङ्लुङबाट हतियार सङ्कलन शुरु भएको बताउनुभयो ।
हतियार धनीलाई आपूmसँग भएको हतियार प्रहरीलाई बुझाउन आग्रह गरिएको तथा आग्रहलाई बेवास्ता गरी नबुझाएमा प्रहरीले नै हतियार नियन्त्रणमा लिने र हतियार धनीलाई कानुनी कारबाही गरिने पनि प्रशासनले जनाएको छ ।