झोलामा खोला हालेको सुन्दा राष्ट्रपति अचम्मित

काठमाडौँ । राष्ट्रपति विद्यादेबी भण्डारीले झोलामा खोला हालेको कुरा सुन्दा आफु अचम्मका पारेको बताउनुभएको छ ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धीको २४ औँ सम्मेलन (कोप — २४) मा नेपालका सहभागिता तथा उपलब्धी विषयमा अन्तक्र्रिया गर्ने क्रममा जलवायु परिवर्तनसँग सरोकार राख्ने सरकारी निकाय वन तथा वातवरण मन्त्रालय, साझेदार संस्था तथा जलवायु विज्ञसँग आफुले झोलामा खोला हालेको शब्द सुन्दा अचम्म लागेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, म त राजनीतिबाट आएको मान्छे । पहिले पहिले पार्टीका कार्यक्रममा जाँदा हाम्रा ठूला नेता तथा जलस्रोतका विज्ञहरुले नेपालको जलस्रोतको विकास नहुनुको कारण झोलामा खोला हाल्नाले हो भनेको सुन्दा आफु अचम्ममा पर्ने गरेको थिए । यो खोलालाई कसरी झोलामा हाल्दा रहेछन् जस्तो लागि रहन्थ्यो ।

उहाँले भन्नुभयो, पछि बुझ्दै जाँदा त खोला दर्ता गरेर लाइसेन्स झोलामा हाल्ने, जलविद्युत् आयोजना निर्माण नगर्ने तर पछि बढी पैसा पाएको बखत बेच्ने प्रवृति बढेकाले नै यो भनाई आएको रहेछ । नेपालको जलविद्युत्को इतिहास एक सय वर्ष भन्दा पूरानो भइसक्यो । यही झोलामा खोला हाल्ने प्रवृतिले जलविद्युत्को विकास हुन नसकेका पछि पो थाहा पाए ।

बिजुली उत्पादन नगर्ने तर झोलामा खोला ओगटेर दलाली गर्ने प्रवृतिको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अब कहिलेसम्म झोलामा खोला हालेर नेपालको विकासलाई रोकेर राख्ने ?

विज्ञहरुसँगको छलफलमा उहाँले भन्नुभयो, यस्तो प्रवृति सरासर बेइमानी कुरा हो । नेपालको जलस्रोतको सदुपयोग नगरेर नेपालको आर्थिक विकास हुनै सक्दैन । यस्तो चालबाजीले देशको विकास हुन सक्दैन ।

हुन त अहिले लोडसेडिङ अन्त्य भएकोमा हामी एक हदसम्म सन्तोष मानिरहेका छौँ । तर यो लोडसेडिङ नेपालको आफ्नै उत्पादनले हटेको हो त ? भन्ने प्रश्न गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, दैनिकजसो खाना पकाउने ग्यास, पेट्रोल, डिजेल लगायतका पेट्रोलियम बस्तु बार्षिक रुपमा अर्बाैँ रुपियाँको त हामी बाहिरबाट ल्याइरहेका छौँ भने जलस्रोतको धनी देशले बिजुली समेत बाहिरबाट किनेर ल्याएर लोडसेडिङ हटाएको भनेर कति गर्व गरिरहने ? बाहिरबाट बिजुली ल्याएर अनि देशभित्रको अध्यारो हटाए भनेर घिरौला जत्रो नाक उठाउने हामी ? । जबसम्म हामी हाम्रो उत्पादनमा आत्मनिर्भर हुन सक्दैनौँ, तबसम्म हाम्रो देशको आर्थिक विकास हुन सक्दैन ।

उहाँले भन्नुभयो, कोशी, कर्णाली, सेती रातदिन बगेको बग्यै छन् । त्यस्तो कञ्चन कलकल गरेर बग्ने पानीको सदुपयोग न कृषिमा हुन सकेको छ, न त बिजुली उत्पादन गरेर देश विकासमा हामीले केही गर्न सकेको छौँ ।

पानी छ, सदुपयोग छैन । पानी भएर पनि त्यसैको सदुपयोग गर्न नसकेको पीडा नेपालीले जति संसारमा अरु कसैले भोग्न नपरेको स्मरण गर्दै उहाँले भन्नुभयो, नेपालीले सुनको कचौरा थापेर भिख माग्दैछन् भनेर कुनै विदेशी विद्धानले भनेको तथ्य साँच्चै हो कि जस्तो लाग्न थालेको छ । भएका प्राकृतिक सम्पदाको सदुपयोग गर्न नसक्नुमा हाम्रो आफ्नै कमजोरी छ । अर्काले उत्पादन गरेको बिजुली किनेर हामी रमाइरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here