शान्तिले आँखा चिम्लिन पाइयोस्: राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलीको सन्तती सुरक्षित छन् भनेर मर्ने बेलामा शान्तिले आँखा चिम्लिन सक्ने वातावरण हुनु पर्नेमा जोड दिनुभएको छ ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धीको २४ औँ सम्मेलन (कोप — २४) मा नेपालका सहभागिता तथा उपलब्धी विषयमा अन्तक्र्रियामा बोल्ने क्रममा विकासले बिनाश निम्त्याइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले विकास मानव जीवनको सहजताका लागि भएकोले मानव जीवनलाई नै समस्या पार्ने गरी गरिएको विकास दीगो विकास नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, आज हामीले गरेको विकासले भावी पुस्ता असुरक्षित हुन्छन् भने त्यो विकासलाई विकास मान्न सकिदैन । विकास त्यो हो, जुन विकासले भोलीको सन्तती सुरक्षित छ भनेर मर्ने बेला शान्तिले आँखा चिम्लिन सकियोस् । आजको पुस्ताले आफ्नो सजिलोका लागि मात्र विकास गर्ने होइन, भावी पुस्तासम्मका लागि विकास गर्नुपर्छ । हामीले आज गर्ने विकासले भोलीको दर्जनौ पुस्तालाई असर नपरोस् भनेर सचेत हुन जरुरी छ ।

विकास — विकास मात्र भनेर दौडने होडबाजी प्रति अत्यन्तै भावुक हुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, मरेका पिता पुर्खा त फर्केर आउँदैनन् । भोलीका सन्तान दरसन्तान आउने त निश्चित छन् । भावी पुस्ताको चिन्ता गरौँ । तिनका लागि सके राम्रै गरौँ । सकिन्न भने भावी सन्ततीका लागि बिगारेर नजाऊँ । पछि उनीहरुले सराप्ने वातावरण अहिले नबनाऊँ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले हिजोको दिनमा बिचार नपुर्याएर गरिएका बस्ती विकास, भौतिक पूर्वाधारका आयोजना आजको परिस्थितिमा त्यति सान्र्दभिक हुन छाडेको चर्चा गर्दै विकास कम्तिमा ५० वर्षपछिको परिस्थिति परिकल्पना गरेर गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here