नेपालीको विद्युत् खपत दर बढ्यो

काठमाडौँ । सहजरुपमा विद्युत् सेवा उपलब्ध भएपछि नेपालीको विद्युत् खपत दर बढेको छ । सङ्घीय संसद्को आजको बैठकमा आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिव्यक्ति विद्युत् खपत ९० किलोवाट बढेको जानकारी गराउनुभयो ।

यस्तै यस वर्षको अन्त्यसम्म २७८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । त्यसमा १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो र ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए समेत रहेका छन् । माथिल्लो त्रिशूली थ्री ए को यही वैशाख २२ गतेदेखि केन्द्रीय प्रणालीमा विद्युत् प्रवाह नै हुनेछ । त्यससम्बन्धी जानकारी नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । यस्तै कुलेखानी तेस्रोको विद्युत् गृह तथा अन्य भौतिक संरचनाको परीक्षणसमेत भइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार २० मेगावाट क्षमताको तल्लो मोदी, ६.४ मेगावाट क्षमताको माथिल्लो मैलुङ ए, २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु ए, १२ मेगावाटको नामर्जुन मादी, ३.२ मेगावाट क्षमताको गुलुन खोला, २५ मेगावाट क्षमताको काबेली बि एक, २१.६ मेगावाट क्षमताको तल्लो हेवा खोला र ८.८ मेगावाट क्षमताको रुडी ए रहेका छन् ।

चालू आवको अन्त्यसम्म विद्युत् उत्पादन शुरु गर्ने अन्य आयोजनामा माथिल्लो खिम्ती सात मेगावाट रहेको छ । यस्तै गत चैतमा नै निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको वाग्मती सानो जलविद्युत् आयोजनासमेत उक्त सूचीमा रहेको छ । यस्तै घट्टे खोला पाँच मेगावाट, विजयपुर खोला ४.५, माथिल्लो मर्दी खोला सात मेगावाट, रुडी खोला ६.६ मेगावाट र सोलू २३.५ मेगावाट रहेका छन् ।

त्यसमा प्रसारण लाइन निर्माण सम्पन्न नभएका कारण केही आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न भने समस्या पर्ने देखिएको छ । यस्तै चार हजार २०६ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । भारत, चीन र बङ्गलादेशसँग गरिएको ऊर्जा व्यापार सम्झौताले नेपालमा उत्पादित विद्युत् निर्यातका लागि अन्तर्राष्ट्रिय बजार उपलब्ध भएको छ । यस्तै निःशुल्क विद्युत् मिटर उपलब्ध गराई विपन्न उपभोक्तालाई राष्ट्रिय विद्युत् प्रणालीमा आबद्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here