धनगढी । सुदूर पश्चिामको प्रमुख व्यापारिक तथा औद्योगिक शहर धनगढी नजिकै रहेको जैविक विविधताको धनी ठाउँ जाखोर तालको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छ। धनगढी उपमहानगरपालिकाको ७ देवहरियामा अवस्थित जाखोर ताललाई प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तालको गुरुयोजना तथा डीपीआर तयार गरिएको हो।
सिमसार क्षेत्र यो तालको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन यहाँ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार जाखोर तालसँगै रहेका साना दुई ताल मुर्कट्टा र मुर्कट्टी तालको पनि संरक्षण र विकास गरिने भएको छ।
जाखोर तालको गुरुयोजनाभित्रै यी साना दुई ताललाई पनि राखिएको छ। जाखोर तालमा डुंगा सञ्चालन गरिने छ भने त्यसपछिको सानो मुर्कट्टा ताल व्यावसायिक रेष्टुरेन्टका लागि प्रयोग गरिने भएको छ। यसैगरी त्यो भन्दा पनि सानो मुर्कट्टी ताललाई खुला चिडियाखानाका रुपमा प्रयोगमा ल्याउन सकिने प्रस्ताव गरिएको छ।जसमा गोही, कुछुवा र माछा पाल्न सकिने छ।
तालमा कमलका बिभिन्न प्रजातिको पनि संरक्षण गरिने छ। तयार गरिएको विस्तृत अध्ययन प्रतिवेदन अनुसार जाखोर ताल परिसरमा चिल्ड्रेन पार्क, पार्किङ स्थल, संस्कृति देखाउन संग्राहलय, अहिलेको मन्दिर नजिकै धर्मशाला प्रस्ताव गरिएको छ।
यसैगरी, दुई वटा प्रवेशद्वार, जाखोर र मुरफट्टी तालको बीचमा पिकनिक स्थल, मेला स्थल प्रस्ताव गरिएको छ।
जाखोर तालको साँघुरो ठाउँमा झोलुङ्गे पुल, तालको उत्तरतर्फ शिवको मूर्ति परिकल्पना गरिएको छ। यसैगरी, जाखोर ताल, मुर्कट्टा र मुर्कट्टी ताललाई जोडेर पदमार्ग बनाउने, त्यसको छेउमा साइकल ट्रयाक पनि रहने जनाइएको छ। पदमार्गको एक ठाउँमा भाले र अर्को ठाउँमा पोथी कुखुराको मूर्ति प्रस्ताव गरिएको छ।
रेष्टुरेन्ट सञ्चाल प्रयोजनका लागि प्रयोग गरिने मुर्कट्टा तालमा पनि डुंगा सञ्चालन गर्न सक्ने सुझाव सरोकारवालले दिएका छन् । साथै ताल परिसरभित्रै एक भ्यूटावर पनि निर्माण गरिने छ। तर, यो अध्ययन प्रतिवेदनमा समेटिएको छैन। सबैको सल्लाह सुझावका आधारमा भ्यूटावरको निर्माण गरिने स्थानको टुंगो लगाइने छ।
परामर्शदाता किशोर थापाका अनुसार जाखोर तालमा निर्माण हुने भ्यूटावरबाट छिमेकी देश भारतको पलियासम्म पनि हेर्न सकिने छ। पर्यटन व्यवसायी रमण श्रेष्ठले संरक्षण अभावमा रहेको जाखोर ताललाई गुरुयोजना अनुसार निर्माण गर्न सके सुदूरपश्चिमकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताए।
उनले तयार गरिएको गुरुयोजनामा पनि केही थप गरेर ताल क्षेत्रलाई विकास गर्न सकिने बताए। धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जाखोल तालको विकासका लागि गुरुयोजना तयार गरिएको र पर्यटन व्यवसायीको सुझाव सल्लाह लिएर तयार गुरुयोजनामा थपघट गर्न सकिने बताए।
अध्ययन प्रतिवेदनअनुसार जाखोर ताल क्षेत्रमा विभिन्न १४ वटा संरचना निर्माणका लागि प्रस्ताव गरिएको छ। यी सबै संरचना तयार गर्दा झण्डै २४ करोड रुपैयाँसम्म खर्च हुने परामर्शदाता थापाले बताए। उनले धर्मशाला र संग्रहालय निर्माणका लागि मात्रै दुई करोड बढी रुपैयाँ खर्च हुने जानकारी दिए। गुरुयोजना पास भइसकेपछि ताल क्षेत्रको विकासका लागि काम अगाडि बढाइने नगरप्रमुख वडले जानकारी दिए।

































