माटो परिक्षण शिविर शुरु

काभ्रेपलाञ्चोक। चौँरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यावसायिकरूपमा खेती गराउन कृषकका खेतबारीको माटोको परीक्षण शिविर शुरु गरेको छ । गाउँपालिकाले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको सहयोगमा दोलालघाटमा तीनदिने माटो परीक्षण शिविर शुरु गरेको हो ।

माटो परीक्षणको रिपोर्टअनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधि जानकारी गराउने उद्देश्यले कृषकको जमीनको माटो परीक्षण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले बताउनुभयो ।

सबै वडाको विभिन्न स्थानबाट नमूनाका रुपमा १५० कृषकको माटो परीक्षण गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “व्यावसायिकरूपमा तरकारी खेती गर्न चाहने कृषकलाई माटो परीक्षणले ठूलो सहयोग पुग्नेछ, त्यसमा हामी पनि सहयोग गर्नेछौँ ।” उहाँका अनुसार माटो परीक्षणका फाइदाबारे गाउँपालिकाले सबै वडावासीलाई जानकारी गराएपछि नमूनाका रूपमा माटो परीक्षण गर्न पठाएका छन् ।

यसअघि भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्रका कृषकको खेतबारीको माटोको परीक्षण गराएको थियो । उक्त गाउँपालिकाले काभ्रेपलाञ्चोक जिल्लामा पहिलोपटक एक हप्ताको अवधिमा आफ्नो १० वडाका कृषकको नमूनाका रूपमा माटो परीक्षण गरेको थियो ।

प्राप्त रिपोर्टअनुसार मौसमअनुसार व्यावसायिक कृषि गराउन कृषकसँग छलफल भइरहेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताउनुभयो । उहाँले कृषकको जीविकोपार्जनमा सहयोग तथा कृषि पेशाबाटै आत्मनिर्भर बन्न हौसला दिलाउने उद्देश्यले हाल गाउँपालिका–१ रिठ्ठेका कृषकलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सहयोगमा उन्नत जातको गहुँको बीउ वितरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here