वायुसेवा निगमलाई ६ महिनामा डेढ अर्ब नोक्सानी

काठमाडौँ । विमान खरिद गर्नुअघि नेपाल वायुसेवा निगमले तयार पारेको व्यावसायिक योजनाअनुसार दुईवटा विमानले दमाम, सिड्नी, टोकियो, हङकङलगायतका सेक्टरमा उडान सुरु गर्नुपर्ने थियो ।

निगमको तत्कालीन नेतृत्व सुगतरत्न कंसाकारले खरिदमा चासो दिएपछि व्यावसायिक योजनाअनुसार काम नगर्दा आम्दानी हुन सकेको थिएन ।

गत वर्ष निगमको कार्यकारी अध्यक्षमा नियुक्त मदन खरेलमाथि समेत विमान प्राप्त भइसकेपछि पनि गन्तव्यको टुंगो लगाउन नसकेको आरोप छ ।

‘गन्तव्य टुंगो लगाएर प्रभावकारी सञ्चालन गर्न नसक्दा नियमले दुईवटा वाइडबडी विमानबाट मात्र २०७५ साउनदेखि पुससम्म ६ महिनाको नोक्सानी अनुमानित १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘व्यावसायिक योजनाअनुसार विमान सञ्चालन गर्न नसके थप नोक्सानी वृद्धि भई लगानीको प्रतिफल प्राप्त गर्न सक्ने अवस्था देखिँदैन ।’

वैशाखसम्म नोक्सानको मात्रा करिब दुई अर्ब रुपैयाँ पुगेको महालेखाका कर्मचारीहरूको अनुमान छ । केही सातायता भने भारतमा जेट एयरवेज बन्द भएका कारण बढेको भाडा दरको लाभ लिँदै वाइडबडी विमानहरूले दिल्ली सेक्टरमा उडान भरिरहेका छन् ।

अर्कोतर्फ निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋणको साँवाब्याजसमेत तिर्न सकेको छैन । २०७४ वैशाख २८ गते ऋण लिएको निगमले २०७५ पुस मसान्तमा पहिलो किस्ता तिर्नुपर्ने थियो ।

कान्तिपुरले जनाए अनुसार दुवै कोषलाई ४० करोड २० लाख रुपैयाँका दरले तीन महिने किस्ता बुझाउन नसक्दा ८० करोड ४० लाख रुपैयाँ अहिलेको किस्तामासमेत थपिन्छ । निगमले भने सरकारसँग केही अवधिका लागि ऋण मागेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here