धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा केही वर्षयता फस्टाएको मिटर ब्याजीको जालोले कयौंको उठिवास लगाएको छ। यसमा सबै भन्दा बढी महिलाहरु सक्रिय देखिन्छ।
बिगतका रेकर्ड हेर्दा महिलाहरु नै यस कार्यमा अगाढी देखिएका छन् । जसको फल स्वरुप कयौले आत्महत्या, कयौंको उठिबास भएको छ भने कयौ महिला जेल चलान भएका छन् । मिटर ब्याज सञ्चालन गिरोहका नाइके राजनीतिक पहुँच, प्रहरी अधिकारीसँगको उठबसले गर्दा पक्राउ परेका थिएनन् तर पनि बेला बेला मिटर ब्याजी महिलाहरु पक्राउ पर्दै आएका छन् । अहिले पनि धनगढीमा महिलाहरुको संजाल यस काममा सक्रिय छन् । राजनिती दलका नेता पनि सक्रिय छन् । ‘मिटर ब्याजीको भयानक जालो र ठगीको कहालीलाग्दो अवस्था छ। यसले कयौं घरबार नै बिगारेको, आत्महत्या सम्मको तथ्यांक छ प्रहरी संग ।
कयौंको घरजग्गा गुमेर सुकमबासी भएका छन्’, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त भन्छन्,‘ जुन रुपमा प्रहरी प्रशासनबाट कारवाही हुनुपर्ने हो त्यो नहुनाले यो धन्दा मौलाएको छ।’ मिटर ब्याजबाट प्रहरी प्रशासन, केही राजनीतिक नेतालगायतलाई पनि फाइदा पुगेकाले यस्तो धन्दा चलाउनेहरु पक्राउ पर्न नसकेको उनी बताउँछन्।
यस धन्दामा सबै भन्दा बढी चौराहा, क्याम्पस रोड र शिवनगरका महिलाहरु सक्रिय रहेको प्रहरीको दावी छ । यसमा केन्द्रीय अनुसन्धानले सुक्ष्म अध्ययन गरीरहेको र त्यस मध्य केही महिलाहरु पक्राउ पनि परेका र जेल चलान भएका छन् । अन्यको भने ‘बेट एण्ड सि’ मा रहेको एक प्रहरीका उच्च अधिकारीले जनाएका छन् ।
यस धन्दामा चेक लेनदेन, चेक नं. हाली कागज बनाउने, जग्गा बन्धक राख्ने आदी भैरकेकोले सम्पत्ती सुद्धिकरणले पनि अध्ययन गरिरहेको जनाएको छ ।
घर धन्दा गर्नेले ५० लाख, ब्युटी पार्लर गर्नेले ५० लाखको चेक लेनदेन गरेको तथ्यांक प्रहरी र सम्पत्ती सुद्धिकरण संग रेहेको र त्यसको आयको पनि अध्ययन भैरेको एक प्रहरी उच्च अधिकारीले जनाएका छन् । “धेरै महिलाहरु अहिले अदालत तिर भेटिन्छन्, आफै कारोबार गर्ने, आफै एक आपसमा मुद्धाहाल्ने, अनि आफै एक अर्काको साक्षी बस्ने, मुद्धाको संजाल अचम्मको भएको छ अहिले ।” अदालतका एक कर्मचारीले नाम नबताउने सर्तमा भने । उहाको अनुसार “यसमा केही वकिलहरुले सबै कुरा थाह पाउदा पनि एक अर्काको मुदामा अल्झाउने काम गरिरहेको छन् ।”
धनगढीकै प्रतिष्ठित व्यापारी कामना स्टोरका सञ्चालक मानिष शर्मा मिटर ब्याजी गिरोहबाट ठगिएका कारण पलायन भएको जोशीले बताए। धनगढीकै होनहार युवा खेम रानाको रहस्यमय मृत्यु पनि मिटर ब्याजीको जालोकै कारण भएको आशंका छ। थोरै पैसा दिएर झुक्याएर घरजमिन आफ्नो नाममा बनाउने, थोरै पैसा दिएर बढी रकम लिएको भनेर औंठाछाप लगाउने, नक्कली कागजपत्र, लालपुर्जा, नापीको ट्रेस नक्सा बनाएर सम्पत्ति हड्प्ने र विभिन्न प्रलोभनमा पारेर पैसा लुट्ने धेरै गिरोह धनगढीमा सक्रिय छन्।
‘यी गिरोहका नाइकेको प्रहरीका अधिकारीसँग, राजनीतिक दलका नेतासँग उठबस छ’, नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘ठगी गर्ने मान्छेहरुलाई राजनीतिक र शक्तिमा रहेकाको संरक्षण हुनाले डरलाग्दो गरी यस्तो धन्दा मौलाएको हो।’
देशको अर्थतन्त्रका लागि चुनौती
मिटर ब्याजी धन्दा नियन्त्रण नगरेमा अर्थव्यवस्थाका लागि ठूलो चुनौती बन्ने विज्ञ बताउँछन्। ‘मिटर ब्याजको जालोले समानान्तर अर्थतन्त्रको अवस्था छ’, प्राध्यापक डा। हेमराज पन्त भन्छन्, ‘यो ठूलो आर्थिक अपराध हो। यसले अर्थतन्त्रलाई नै डाँवाडोल बनाउँछ।’
अर्थविद् शिवहरि मुडभरी पनि मिटर ब्याजको जालो अर्थतन्त्रका लागी घातक भएको बताउँछन्। ‘मिटर ब्याजको जालो र ठगी जसरी भइरहेको छ, यो अर्थतन्त्रका लागी घातक छ’, उनी भन्छन्, ‘यसमा अदृश्य मुद्रा र कालो धन हुने गर्छ।’ मिटर ब्याजको ठगीमा सीमित व्यक्तिले अथाह कमाउने र धेरैले अथाह गुमाउने अवस्था रहेको उनी बताउँछन्।
लेनदेनको विवादले गिरोहको पर्दाफास
प्रहरीले धनगढी–६ मटियारीका ३८ वर्षीय सञ्जय राणालाई उनका सहयोगी दुईजनासहित गत बुधबार पक्राउ ग¥यो। उनीहरुको गिरोहसँग नेपाल राष्ट्रबैंकका गभर्नर, विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा अदालतका छाप, नापी तथा मालपोतका मिसिललगायतका सामग्री फेला परेपछि सबै चकित भए। यो गिरोहमा को को संलग्न छन् रु यिनीहरुले कसरी र कोकोलाई ठगे रु धेरै कुरा खुल्न बाँकी छ। प्रहरीले अनुसन्धान भइरहेको बताएको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा राज्यलाई नै चुनौती दिनेगरी गिरोहले ठूलो मात्रामा ठगी गरिरहेको यसबाट पनि खुलासा भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो तथा जिल्ला प्रहरीको टोलीले राणासहित धनगढी–३ मिलनचोकका २७ वर्षीय रुद्रप्रसाद अधिकारी र धनगढी–६ मटियारीकै ३३ वर्षीय कमलबहादुर विकलाई हतियारसहित बुधबार राति पक्राउ गरेको थियो। प्रहरीका अनुसार सञ्जय राणाले तमसुक बनाउने, जग्गा पास गर्नेलगायतका फर्जी काम अधिकारीबाट गराउँथे भने विक राणाका सहयोगी थिए।
उनीहरुबाट पेस्तोल एक थान, रिभल्बर एक थान, कटुवा पेस्तोल २ थान, सात राउन्ड गोली, ६ सय ७९ दशमलब ३६ ग्राम सुनका गहना, १८ करोड ३ लाख ६४ हजार रुपैयाँबराबरको २३ थान तमसुक, २ करोड ४५ लाख २० हजार रुपैयाँबराबरका विभिन्न व्यक्तिको नाममा काटिएका १९ थान चेक, एक अर्ब ९० करोड रुपैयाँको नेपाल राष्ट्रबैंकले रिलिज गरेको भनिएको बैंक ड्राफ्ट ३ थान, नापी कार्यालय धनगढी, राजस्व विभाग सेवा कार्यालय सिंहदरबार काठमाडौं, मालपोत कार्यालय कैलाली, नापी कार्यालय टीकापुर, मालपोत कार्यालय कैलाली कम्प्युटर फाँट, नोटरी पब्लिक, कर अधिकृत, सूचना तथा सञ्चार मन्त्रालय, कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, नेपाल राष्ट्रबैंक बालुवाटार काठमाडौं, बर्दगोरीया गाउँपालिका, घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका, नोटरी पब्लिक भेरिफिकेसन, अर्थ मन्त्रालय सिंहदरबार, आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्रबैंक नेपालगन्ज बाँके, गभर्नर डा। चिरञ्जीवी नेपाल, कार्यालय प्रमुख, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्रबैंक भैरहवा, सर्भेक्षकका छापहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले बताए।
राणाले एउटा कोठा भाडामा लिएर आपराधिक गतिविधि सञ्चालन गर्दै आएका थिए। विभिन्न मन्त्रालय, गभर्नर र कार्यालयको छाप प्रयोग गरेर कस्तो प्रकारको जालसाजी गर्ने गरेको हो भन्ने खुल्न सकेको छैन। ‘हामीले सबै प्रकारले अनुसन्धान गरिरहेका छौं’, एसपी गिरीले भने।
काठमाडौंको असन घर भएका विन्देश्वर श्रेष्ठले प्रहरीमा उजुरी दिएपछि राणासहित तीनजनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो। अघिल्लो साताको शुक्रबार श्रेष्ठले आफ्नो पैसा ठगेको भनेर राणाविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गरेका थिए। साढे ९ करोड रुपैयाँ ठगी गरेको भन्दै श्रेष्ठले उजुरी दिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्षबहादुर बस्नेतले बताए।
स्रोतका अनुसार करिब डेढ वर्षअघि श्रेष्ठ र राणाबीच चिनजान भएको थियो। त्यसपछि उनीहरुले आपसलमा लेनदेन थालेका थिए। राणाको भनिएको करिब ६–७ करोड पर्ने आलिसान महल पनि श्रेष्ठकै नाममा रहेको खुलेको छ। कैलालीका एसपी गिरीले घर र केही जमिन श्रेष्ठको नाममा रहेको पाइएको बताए। ‘राणाले जमिन र घर श्रेष्ठको नाममा पास गरेको पाइयो’, उनले भने, ‘पछि घर फिर्ता गर्ने सर्तमा श्रेष्ठको नाममा पास गराएको भनिएको छ।’ हिरासतमा रहेका राणाले आफूलाई सञ्चालन गर्ने श्रेष्ठ नै भएको बयान दिएको प्रहरी स्रोतले बताएको छ।
राणाले घरमै मालपोतका कर्मचारी र फाइल मगाएर महल श्रेष्ठका नाममा पास गरेको खुलेको डिएसपी बस्नेतले बताए। नक्कली कागज पनि बनाउने भएकाले श्रेष्ठको नाममा पास भएको घर र जग्गाको लालपुर्जा नक्कली हो वा सही भनेर अनुसन्धान भइरहेको उनले बताए।
घर र १० कट्ठा जमिन श्रेष्ठको नाममा पास गरिएको राणाकी श्रीमतीले बताएकी छन्। श्रेष्ठमाथि पनि अनुसन्धान हुनुपर्ने अवाज उठेको छ तर प्रहरीले उनलाई पक्राउ गरेको छैन।
को हुन् सञ्जय राणा ?
पक्राउ परेका राणा डोटीको साबिक केआइसिंह गाउँपालिका तथा तत्कालीन राना गाउँ विकास समिति–९ का तुले रानाका छोरा हुन्। उनले आफूलाई जंगबहादुर राणा खलकको भनेर सञ्जयविक्रम राणा भनेर चिनाउँथे। वासुदेवीमा कक्षा १० सम्म पढेका उनले एसएलसी उत्तीर्ण गरेका छैनन्। विद्यालयमा उनको नाम शेरबहादुर राना क्षेत्री थियो। बुवाको सानैमा निधन भएकाले अपांग अवस्थाकी आमाले उनलाई हुर्काइन्। अर्की आमाबाट एक दाइ र बहिनी भए पनि आफ्नी आमापट्टि उनी एक्ला छोरा हुन्। मटियारीमा उनको कच्ची घर थियो। सातआठ वर्षपहिले आर्थिक अभावबीच रहेका राणाको जीवनशैली पछिल्ला वर्षमा चामत्कारिक रुपमा बदलिएको थियो।
नागरिक न्युज का अनुसार राणाले नगद रकममा कारोबार गर्थे। कुनै पनि तमसुक बनाउनेलगायतको काम आफ्नो नामबाट गर्दैनथे। उनले फेसबुक एकाउन्ट पनि आफ्नो नामबाट खोलेका छैनन्। उनले अर्को नामबाट खोलेको फेसबुक चलाउँथे। घरबाट गाडीमा निस्केर सीमित ठाउँमा मात्रै जाने राणाले बन्द कोठाबाट सबै गतिविधि सञ्चालन गर्ने गरेको प्रहरीले बतायो। उनले आधादर्जन सिमकार्ड बोक्थे। उनको प्रहरी अधिकारीहरुसँग हिचमिच थियो। भारतस्थित पिलभितमा बस्ने एसएसबीका डिआइजीलगायतका अधिकारीसँग पनि निकटता थियो। दुबै देशका प्रहरी अधिकारीसँगको सम्बन्धका कारण उनले सीमाबाट साना हतियार तथा अवैध सामग्री सजिलै ल्याउने गरेको स्रोतले बतायो।