पर्यटनसँग प्रकृति र संस्कृतिलाई जोड्नुपर्ने

तनहुँ । पर्यटनसँग प्रकृति र संस्कृतिलाई जोडेर आयआर्जन गर्नुपर्नेमा जोड दिइएको छ । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) व्यवस्थापन समितिले पदमार्ग क्षेत्रका प्रकृति र संस्कृतिलाई

आयआर्जनसँग जोड्ने कार्यक्रमसहित मिलेनियम पदमार्ग पर्यटन विकास गुरुयोजनाको प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ ।

तनहँुको दुलेगौँडादेखि स्याङ्जाको रामबाछासम्म जोडिने ७२ किलोमिटर दूरीको पदमार्ग क्षेत्रमा पर्ने धार्मिक, सांस्कृतिक एवं ऐतिहासिकस्थलका साथै त्यहाँ प्रचलित संस्कृतिलाई पर्यटनसँग जोड्दै स्थानीयको आयआर्जन अभिवृद्धि गर्नेमा गुरुयोजनाले जोड दिएको छ ।

प्रस्तावित गुरुयोजना सम्बन्धमा पदमार्ग क्षेत्रमा पर्ने प्रत्येक स्थानीय तह र त्यसअन्तर्गतका वडाका जनप्रतिनिधि एवं सरोकारवालाबीच छलफल शुरु गरिएको र छलफलमा प्राप्त सुझाव समेतलाई समेट्दै अन्तिम निष्कर्षमा पुगिने मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो ।

पदमार्गमा पर्ने प्रत्येक स्थानीय तहको अपनत्व कायम गराउँदै यसलाई देशको उत्कृष्ट पदमार्ग स्थापित गराउने उद्देश्यका साथ प्रस्तावित गुरुयोजनाको मस्यौदा छलफलमा लगिएको उहाँले बताउनुभयो ।

बर्खा होस् वा हिउँद जुनसूकै समयमा हिँड्न सकिने मध्यपहाडी क्षेत्रको यो पदमार्गलाई पदयात्रा पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न सकिने टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष डम्बरबहादुर केसी बताउनुहुन्छ ।

तनहुँ तथा स्याङ्जाका साविकका २३ वटा गाउँविकास समिति पर्ने यस पदमार्गलाई सन् २००० मा शुरुआत गरिए पनि विभिन्न कारणबस यसले अपेक्षित गति लिन नसकेको उहाँले बताउनुभयो ।

यहाँका प्रकृति तथा संस्कृतिका विविध पक्षलाई उजागर गर्दै तिनीहरूको पर्यटकीयरुपमा उपयोग गरी स्थानीयको आयआर्जन गराउने विषयले यसको दीर्घकालीन सञ्चालनमा सहयोग पुग्ने टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलको धारणा छ ।

समितिले प्रस्तावित गुरुयोजना सम्बन्धमा पदमार्ग क्षेत्रका तनहुँको शुक्लागण्डकीसहित स्याङ्जाका पुतलीबजार, भिरकोट र वालिङ नगरपालिकाका र उक्त जिल्लाकै बिरुवा गाउँपालिकाका विभिन्न वडाका अध्यक्षसँग छलफल गरिसकेको र उहाँहरूबाट प्राप्त सुझावलाई समेटेर अन्तिम रुप प्रदान गरिने मिलेनियम टे«क व्यवस्थापन समितिका अध्यक्ष नवीन प्रकाश गुरुङले बताउनुभयो ।

पदमार्गको दीगो व्यवस्थापन एवं त्यसबाट अधिकतम फाइदा लिनका लागि सम्बन्धित स्थानीय तहको सक्रियता अपरिहार्य भएको उहाँको भनाइ छ । समितिले पदमार्गमा पर्र्ने धार्मिक एवं ऐतिहासिक स्थल, दृश्यावलोकन स्थल, घरबासलगायतका हरेक विषयलाई समेटेर गुरुयोजनाको प्रारम्भिक मस्यौदा तयार गरेको गुरुयोजना तर्जुमा समितिका संयोजक श्रीकान्त खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रस्तावित गुरुयोजनामा मिलेनियम पदमार्गलाई प्राकृतिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक सम्पदाको समिश्रणसहितको साहसिक गतिविधि अनुभवका लागि नेपालमा मध्यपहाडी क्षेत्रको एक उत्कृष्ट पदयात्रा गन्तव्यका रुपमा विकास गरिने विषयलाई दीर्घकालीन सोचमा राखिएको छ ।

पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्की लगायतको संरक्षण र उपयोगलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।

पदयात्रा पर्यटनको विकासका लागि उत्पादन हुने क्षेत्रको पहिचान गर्दै कृषिलाई पर्यटनसँग जोड्ने गुरुयोजनाको लक्ष्य छ । यस क्षेत्रमा पूर्वाधार एवं स्थानीयको आयआर्जन लगायतमा क्षमता अभिवृद्धिका साथै अध्ययन अनुसन्धानको पाटोलाई निरन्तरता दिइनेछ ।

गुरुयोजनामा छ वटा प्रमुख उद्देश्यका साथै अन्य २४ वटा रणनीतिक उद्देश्यसहित पाँच वर्षको अवधिमा विभिन्न ९२ वटा कार्यक्रम सञ्चालन गर्ने विषयलाई जोड दिइएको उहाँले जानकारी दिनुभयो ।

समितिकै सक्रियतामा यस क्षेत्रमा प्रचलित मगर समुदायको सोरठी, यानीमाया, गुरुङ समुदायको घाटु, ब्राह्मण, क्षेत्रीको बालनलगायतका संस्कृतिको संरक्षणमा पनि जोड दिइएको वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दिनुभयो ।

नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर सहस्राब्दी पदमार्गमा ठूलो सङ्ख्यामा पाइन्छ । यस क्षेत्रमा चरा पर्यटनको समेत विकास गर्ने उद्देश्यले मिलेनियम ट्रेक व्यवस्थापन समिति र पोखरा पक्षी समाजबीच सम्झौता भई यसको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । कतिपय पाहुना चरा आउनेजाने क्रमका साथै मौसमको फेरबदल आदिलाई दृष्टिगत गरी तीन चरणमा चरा पर्यटनको सम्भाव्यता अध्ययन गरिने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो ।

पहिलो चरणको सर्वेक्षणबाट हाल पदमार्ग क्षेत्रमा १४७ प्रजातिका चरा पाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अध्ययनका क्रममा चराचुरुङ्गीका साथै यस क्षेत्रमा पाइने पुतली, जडीबुटीका साथै अन्य वनस्पतिसमेतको विवरणसहित तेस्रो चरणमा अन्तिम प्रतिवेदन तयार गरिनेछ ।

पदमार्गमा जाने पर्यटकलाई विभिन्न स्थानबारेको जानकारी लिन सहयोग पुगोस् भन्ने हेतुले नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले पदमार्ग क्षेत्रमा पहिलो चरणमा विभिन्न ४० स्थानमा साइनिङ पोष्ट राख्न सहयोग गरेको बोर्डको पोखरा कार्यालयका लेखा अधिकृत गोपाल भण्डारीले जानकारी दिनुभयो । पदमार्ग क्षेत्रको प्रवद्र्धनलाई बोर्डले प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो ।

‘भिजिट नेपाल २०२०’ लाई लक्षित गर्दै उक्त समयमा ५० हजार विदेशी पर्यटक सहस्राब्दी पदमार्गमा हिँडाउने समितिको लक्ष्य छ । सहस्राब्दी पदमार्गमा पूर्वाधार विकासका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ छुट्याएको छ भने यो पदमार्गसहित अन्नपूर्ण चक्रीय पदमार्ग र धवलागिरि चक्रीय पदमार्गको समग्र विकासका लागि चालू आर्थिक वर्षमा १८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसैबीच समितिले प्रस्तावित गुरुयोजना सम्बन्धमा पदयात्रा मार्गमा पर्ने वडाका वडा अध्यक्षसँग पोखरामा छलफल गरेको छ । छलफलमा वालिङ नगरपालिका वडा नं ३ का अध्यक्ष सुकराज गुरुङ, पुतलीबजार नगरपालिका वडा नं २ का अध्यक्ष तिलकराम श्रेष्ठ, ९ का अध्यक्ष लीलप्रसाद गुरुङ, १२ का अध्यक्ष दूधप्रसाद गुरुङ, शुक्ला गण्डकी नगरपालिका वडा नं ९ का अध्यक्ष लोकनारायण श्रेष्ठ, ११ का अध्यक्ष दलबहादुर थापा, १२ का अध्यक्ष मनराज गुरुङ लगायतले सहस्राब्दी पदमार्गमा पर्यटनको विकासका लागि सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here