प्रहरीले माला लगाइदिएपछि चालक छक्क, यात्रु मख्ख

गोरखा । प्रहरीले माला र फूलको गुच्छा दिँदै हिँडेको देखेर आइतबार बिहान गोरखा सदरमुकामबाट काठमाडौं, चितवन, पोखराका लागि छुटेका यात्रुबाहक बसका चालक छक्क परे।

नियम अटेर गर्ने चालक, सहचालक र सधैं सिठी फुकेर लखेट्ने प्रहरीबीचको यो दृष्य देखेर यात्रु र अन्य स्थानीय अनौठो मानेर हेरिरहे।

नजिकै पुगेर चालकलाई माला लगाउँदै गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले भने ‘चाडबाड सुरु भयो, यात्रुहरुलाई राम्रोसँग ल्याउने लैजाने गर्नु, राम्रो व्यवहार गर्नु। दसैंको शुभकामना।’ नगर प्रमुखले चालकलाई शुृभकामना दिँदै गर्दा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारी यात्रुलाई झ्यालबाट फूलको गुच्छा दिँदै भन्दै थिए ‘तपाईहरुको यात्रा सफल होस्, शुभ यात्रा। केही परेमा प्रहरीलाई खबर गर्नुहोला।’

हरेक वर्ष चाडबाडको बेला यात्रुहरु ठगिने, धेरै भाडा लिने, जोखिम यात्रा गराउने गरेको गुनासो आउन नदिन र सर्वसाधारणलाई सहज आउजाउको चाँजोपाँचो मिलाउन ट्राफिक प्रहरीले चेतनामुलक अभियान सुरु गरेको हो। जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्रको सहयोगमा सुरु भएको अभियान ग्रामीण भेग छिर्ने अन्य नाकामा पनि सचालन गर्ने योजना रहेको प्रहरीले जनाएको छ।

एक पछि अर्को गर्दै दसैंको पहिलो दिन बिहान छुटेका केही सवारी चालक र यात्रुलाई फूलमाला दिएर ट्राफिक प्रहरीले नियम पालनाको सन्देश दिएको गोरखाका ट्राफिक प्रमुख सुकबहादुर विकले बताए। ‘प्रहरी देखेर चालक डराउने तर्सने होईन, नियम पालना गर्न प्रेरित गर्ने हो’ उनले भने। सबै पक्ष मिलेर चाडबाडको बेला हुने सवारी आउजाउलाई सहज बनाउने घटस्थापनाको दिनदेखि सुरक्षित यात्राका लागि अभियान प्रभावकारी हुने नगरप्रमुख राजनराज पन्तले बताए। ‘अन्यत्रबाट जिल्ला आउँदा बिभिन्न समस्याले अवेर हुन सक्छ, यातायात व्यवसायीले ढिलासम्म सेवा दिनुपर्छ’ सुझाव दिँदै उनले भने ‘तीन सय ६५ दिन नै सेवा दिने गरी सवारी चलाउनुर्छ।’

जिल्ला प्रहरी प्रमुख अधिकारीले नाफासँगै धर्म कमाउन पनि सुझाव दिए। ‘यात्रु राखेर भाडा लिनुहुन्छ, लिनुपर्छ पनि सँगै राम्रो व्यवहार र मिठो बोलेर, सहयोग गरेर धर्म पनि कमाउनुहोस्, यो अवसर पनि यातायात व्यवसायीलाई छ।’ ग्रामीण भेगमा यातायात सञ्चालन गर्दै आएको दरौँदी यातायात प्रालिका अन्जनबाबु खत्रीले यात्रुलाई पनि सचेत हुन अनुरोध गर्दै भने ‘सवारी चालक, सहचालकलाई मात्रै दोष दिने होईन, यात्रुले पनि ट्राफिक नियमबारे बुझेर सचेत गराउँदा अझै प्रभावकारी हुन्छ।’

सदरमुकामको हरमटारी चोकमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्षा स्थापना गरेको छ। चाडबाड केन्द्रित उक्त कक्षमा यात्रुले आफुलाई परेको समस्याका बारेमा जानकारी दिने र प्रहरीले सहजिकरण गर्ने गरिन्छ। टिकट नपाएको, तोकिएको भन्दा धेरै भाडा लिएको, झोला हराएको, जोखिम यात्रा गराएको जस्ता विषयमा सोधखोज गरी सेवा लिन सक्ने ट्राफिक प्रहरी टिकाराम शर्माले बताए। नागरिकले जनाए अनुसार ट्राफिक प्रहरीले सवारी साधनमा सचेतनामुलक स्टिक टास्ने, चालक सहचालकलाई नियमबारे जानकारी दिने अभियान पनि निरन्तर चलाईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here