ट्युबबाट नेपालतर्फ

दार्चुला । नेपाल–भारत लकडाउनको मौका छोपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् ।

यो क्षेत्रका स्थानीय मात्र नभई बैतडी र बझाङका नेपाली मजदुर ट्युबमार्फत घर फर्किएका हुन् । दुवै देश लकडाउन भइरहेको बेला भारतमा रोकिएर रहेका नेपाली ट्युबमार्फत घर फर्किएको स्थानीय बताउँछन् ।

ट्युबमा चढेर दिनहँु नेपाली मजदुर भित्रिएका छन् । प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेर उनीहरू नेपाल प्रवेश गरेको एक स्थानीयले बताए । मालिकार्जुनको बाकु, गराडी, चुकिला डिन्सीलगायत क्षेत्रबाट रातको समयमा भारतबाट स्थानीय ट्युबमार्फत नेपाल आउने गरेको स्रोतको दाबी छ ।

त्यहीँका स्थानीयले अहिले विपद्को समयमा आम्दानीको स्रोतका रूपमा ट्युब बनाएका छन् । उकु बाकु हुँदै शुक्रबार राति २५ जना र शनिबार सोही संख्यामा मजदुर घर फर्किएको मालिकार्जुनका स्थानीय हीरासिंह धामीले जानकारी दिए । चेकजाँचबिना उनीहरू गाउँ पसेपछि गाउँमा जोखिम बढेको उनले बताए ।

मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी अहिले पूलबाट आएका भन्दा पनि ट्युबमार्फत अवैध रूपमा नेपाल भित्रिरहेका मजदुरका कारण गाउँमा कोराना भाइरसको जोखिम बढेको बताउँछन् ।

उनले भने, ट्युबमार्फत रातको समयमा मात्रै नेपाल प्रवेश गर्छन् । उनीहरू स्वास्थ्य चेकजाँचबिनै गाउँघर पुगेका छन् ।’ ट्युबमार्फत नेपाल आउने बाटो पूर्ण रूपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई आग्रह गरेको अध्यक्ष धामीले बताए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी दीपेन्द्रबहादुर शाही त्यस क्षेत्रमा रहेका ट्युबलाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिइरहेको बताए । सीमा प्रहरी चौकी लाली, जौलजिवीले यो क्षेत्रका सबै ट्युब संकलन गर्ने काम गरिरहेको जानकारी दिए ।

स्थानीयका अनुसार नेपालतिरका ट्युब प्रहरीले नियन्त्रणमा लिएको भए पनि भारततिरका ट्युबमार्फत अहिले भारतमा रोकिएका नेपाली नेपालतिर आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here