कोभिडको जिन पत्ता लगाउने कार्य सुरु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर बढ्दै गएपछि भाइरसको जिन पत्ता लगाउने कार्य अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पहलमा भाइरसमा रहेको जिनको सिक्वेन्सिङ (जिन वर्गीकरण) गर्ने कार्य अघि बढेको हो ।

शरीरमा विभिन्न प्रकृतिका भाइरस हुने भएकाले यसको ‘सिक्वेन्सिङ’ पत्ता लगाउने कार्य अघि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालका पहिलो संक्रमितको मात्रै जिन सिक्वेन्सिङ भएको छ ।

प्रक्रिया सुरु भएसँगै जिन पत्ता लगाउन संक्रमित या नयाँ संक्रमितबाट व्यक्तिको अनुमतिमा स्वाब संकलन गरिनेछ ।

नेपालमा हाल काठमाडौं विश्वविद्यालय र नास्टमा जिन छुट्याउने प्रविधि (जेनेटिक ल्याब) छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबार विज्ञसहितको छलफल डाकेको थियो । कोभिड–१९ सम्बन्धी प्याथोलोजी सल्लाहकार समिति सदस्यसमेत रहेका नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालले नेपालमा जिन सिक्वेन्सिङ गर्ने प्रक्रिया सुरु भइसकेकोे जानकारी दिए ।

उनले भने, ‘नेपालमा देखिएको कोरोना भाइरसको कुन जिनले गर्दा पोजेटिभ केस देखिएको छ । त्यो जिन पत्ता लगाउने कार्य अघि बढिसकेको छ ।’

नेपालमा कोरोना संक्रमण देखिएका व्यक्तिमध्ये अधिकांश लक्षणविहीन भएकाले जिनको प्रकृतिबारे अध्ययन गरिनेछ ।

जिनको सिक्वेन्सिङ गरेर भाइरसको जेनेटिक क्यारेक्टराइजेसन (जिनको विशेषता) र जिनको विविधता पत्ता लगाई जिन म्युटेसन (उत्परिवर्तन) छ या छैन भनेर हेरिनेछ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय माइक्रोबायोलोजी विभाग प्रमुख सह. प्रा.डा. मेघराज बन्जाराले नेपालको भाइरस कस्तो प्रकृतिको हो भनेर जानकारी लिन आवश्यक रहेको बताए । उनले भने, ‘कुनै देशमा भ्याक्सिन पत्ता लाग्यो या औषधि पत्ता लाग्यो भने हाम्रो देशका लागि उपयुक्त हुन्छ कि हुँदैन । प्रभावकारी हुन्छ कि हुँदैन भन्नका लागि हामो देशको भाइरसको सिक्वेन्सिङ पनि थाहा हुनुपर्छ ।’

जिन पत्ता लगाएपछि नेपाल र बाह्य देशको भाइरसको जिन एउटै हो या होइन भनेर तुलना गर्न सकिने माइक्रोबायोलोजीस्टहरू बताउँछन् । नेपालमा पहिचान भएका कोभिड–१९ संक्रमितमा माइल्ड (मधुरो) वा एसिम्प्टोम्याटिक (लक्षणविहीन) संक्रमण उत्पन्न भएको पाइएकाले ती भाइरसको जिन विश्लेषण गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ । संक्रमितमा भाइरस एकै खाले छन् या फरक खाले छन् भनेर जानकारी हुन्छ ।

जिनको सिक्वेन्सिङ हुने भन्दै लाखांै जिन हुने भएकाले नेपालमा संक्रमित देखिएका व्यक्तिमा कुन प्रकृतिको जिन छ भनेर पत्ता लगाउने कार्य सुरु गरिएको हो ।

कोरोना भाइरस रोग ९कोभिड–१९० संक्रमितको संख्या बढ्दै जान थाले पनि विस्तृत रूपमा भाइरसको ‘जिन’ को विश्लेषण नगरिँदा कुन जिनले संक्रमण देखिएको हो, पत्ता लागेको थिएन । कोरोना भाइरसको जिनको विश्लेषण गरे यसको अवस्थाबारे जानकारी प्राप्त हुन्छ । संक्रमितबाट यो भाइरस निकालेर यसको ‘फुल जिनोम’ (सम्पूर्ण जिन)को विश्लेषण हुनु आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here