लकडाउनमा वार्डेन डायरी : थपियो रातदिन टेन्सन

काठमाडौँ । लकडाउनको समयमा फिल्ड नछाड्ने भन्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आदेश गएपछि केही दिन घरपरिवारसँग पोखरा बस्न खोजेका बर्दिया राष्ट्रिय निकुञ्जका चिफ वार्डेन अणनाथ बरालको लकडाउन दैनिकी बर्दियाका जंगलमा बित्न थाल्यो । यही समयबीच उनले आफ्नो फेसबुक पेजमा आफुले जीवनमा पहिलो पटक एकै दिनमा तीन पटक बाघ देखेको खबर सार्वजनिक गर्दै वार्डेन हुनुको सार्थकता सहितको खुसी बाँडे ।

लकडाउनका समयमा तराईका गर्मी छल्न घरपरिवारका सदस्यलाई बोलाएर संरक्षणका लागि गरेको आफ्नो अनुभव सुनाउन सगरमाथा राष्ट्रिय निकुञ्जका चिफ वार्डेन भूमिराज उपाध्याय पनि सफल हुनु भयो । उनले पनि फेसबुक पेजमा पोष्ट गर्र्दै संरक्षणका लागि गस्तीसँगै परिवारलाई सगरमाथाको मनोरम प्रकृतिसँग मनोरमा गरेका दृश्य सार्वजनिक गरेर राज्यले दिएको जिम्मेवारी पूरा गर्न कसरत गरिरहेको जानकारी दिए ।

डेड वर्षसम्म सगरमाथाको चिसो हावापानीसँग अनुबन्धित भएर तराई झरेका बाँके राष्ट्रिय निकुञ्जका चिफ वार्डेन प्रमोद भट्टराईले लकडाउनका समयमा बाँकेको गर्मी छल्न निकुञ्जभित्र गस्ती गर्दै फायर लाइन सफा गरेको तस्विर सहितको आफ्नै दैनिकी फेसबुक मार्फत आम संरक्षणकर्मी तथा शुभचिन्तकलाई पत्राचार गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको आराम कक्षबाट देशको शासन व्यवस्था सञ्चालन गरिरहेका बेला तराईको धुपौरे गर्मी देखि सगरमाथासम्म खटिइरहेका चिफ वार्डेनको दैनिकी भने वनजंगलको गस्ती गर्न, अवैध रुपमा संरक्षणक्षेत्रभित्र पसेकालाई पक्राउ गर्न, कानून अनुसार कारवाहीको फायल उठाउने काममा बित्न थालेको छ ।

लकडाउनका चिफ वार्डेनको दैनिकी कसरी बित्न थालेको छ । यस सम्बन्धमा नेपालकथाले थोरै भएपनि समेट्न कोशिस गरेको छ । अरु सबै सुतेको बेला तस्कर सक्रिय हुने विश्वव्यापी प्रवृतिसँग लड्न चिफ वार्डेनको दैनिक रणनीति कस्तो छ ? यस विषयमा यहाँ प्रस्तुत गरेका छौँ ।

खुद्रे बदमासीसँग लड्दै छु
नारायण रुपाखेती, चिफ वार्डेन, चितवन राष्ट्रिय निकुञ्ज

चितवनमा पर्यटकको शुन्यता छाएको धेरै भइसक्यो । त्यसैले निकुञ्जभित्र मानिसको प्रेसर कम छ तर अर्काेतिर डर लाग्दो स्थिति पनि छ । यस्तै बेला तस्करका आँखा, कान, हात, खुट्टा बढी चल्ने भएकाले कति बेला, कुन ठाउँमा तस्करले वन्यजन्तुलाई नोक्सान पार्ने हो भन्ने चिन्ता छ । त्यसैले अरुलाई घरमा बस भनेर लकडाउन गरिएको छ । हामीलाई त बस्न त के सुत्ने समय पनि नपाइने स्थिति छ । बिहाना उठेदेखि रातीको १२ ÷ १ बजेसम्म गस्तीमा बिताउने गरिएको छ । शुन्य समयमा तस्करले आफ्ना गतिविधि सञ्चालन गर्ने भएकाले नेपाली सेनासँगको समन्वयमा संयुक्त रुपमा गाडी, हात्ती, साइकिल, मोटरसाइकिल, ड्रोनको गस्ती सञ्चालन भइरहेको छ । त्यसको नेतृत्व गर्नुपर्दा थकान होइन, आनन्दको महसुस भएको फिल भइरहेको छ । यो अवधिमा मेसिनबाट ५०० हेक्टर घाँसे मैदान व्यवस्थापनको काम सकेका छौँ । निकुञ्जभित्र माछा मार्ने, घाँस, दाउरा काट्ने, काठ चार्ने खालका खुद्रे बदमासी गर्ने व्यक्तिको प्रेसर चौतर्फी छ । हालसम्म १२५ जनालाई समातेर कसुर अनुसारको कारवाही अगाडि बढाएका छौँ । गर्मी चढ्दै छ तर पनि जंगलभित्रको गस्ती गर्ने भौतिक शरिरलाई खासै गर्मीले छोएको छैन ।

गस्तीमै रातदिन बित्न थालेको छ
अणनाथ बराल, चिफ वार्डेन, बर्दिया राष्ट्रिय निकुञ्ज

बाहिर निस्किदा गर्मी निकै बढेको महसुस हुन्छ । चोरी शिकारको समस्या आउने देखेर रातदिन गस्तीमा बित्ने गरेको छ । कुनै दिन त निकै थकाई लाग्छ तर पनि वन्यजन्तुसँगको मिलनले थकाई पनि आनन्दमा परिणत हुने गरेको छ । काठ काट्न, घाँस दाउरा लिने, गिट्टी, बालुवाव चोर्नेको बिगबिगि छ । जता गयो, त्यतै त्यस्ता मानिस समात्ने गरेका छौँ । यो समयमा फायर लाइन सफा गर्ने, घाँसे मैदान व्यवस्थापन गर्ने काम भइरहेको छ । १५० जना भन्दा बढी पक्राउ परेका छन् । तिनलाई कसुर हेरेर कारवाही गर्ने, थुनामा राख्ने काम भएका छन् । बिहाना निस्केपछि कहिले त राती फर्किने गरेको छु । सबै स्टाफ साथीहरुले सहयोग गरिरहनु भएको छ । नेपाली सेनासँगको संयुक्त परिचालन रणनीतिलाई अझै प्रभावकारी बनाउन दैनिकजसो सेना अधिकृतसँग बैठक पनि बस्ने गरेको छ ।

घरबाहिर हिडेको मान्छे निकुञ्जमा भेटिन्छन्
सुष्मा राना, चिफ वार्डेन, लामटाङ राष्ट्रिय निकुञ्ज

खुला भन्दा लकडाउनका अवस्थामा यहाँ मानिसको निकुञ्जभित्र प्रवेश बढ्यो । निकुञ्जभित्र ११० वटा बस्ती छन् । सहरबजार निकुञ्जभित्रै छन् । यहाँका मानिस घरभित्रबाट बाहिर निस्केपछि सिधै निकुञ्जभित्र प्रवेश गर्ने गरेका छन् । पर्सा र बर्दिया राष्ट्रिय निकुञ्जका घटनाले मेरो त निन्द्रा हराएको छ । घाँस, दाउराका लागि मानिसका जथभावी प्रवेशलाई रोक्नमै दिन बित्न थालेको छ । अहिले त डढेलो लागेको लाग्यै छ । चार÷ पाँच ठाउँमा त लागेको आगो निभाउन सफल भयौँ । सबै स्टापलाई मोबिलाइज गरिरहेकी छु । अहिलेसम्म त सानोतिनो बदमासी माात्र भेटिएको छ । त्यही अनुसार कारवाही गर्ने गरेकी छु । बस्तीसँग जोडिएको निकुञ्जमा कति बेला चोरी शिकारका के घटना हुन्छन् भन्ने चिन्ताले सताउन्छ । निकुञ्जमा दैनिक कम्तिमा ३२ वटा गस्ती गर्ने व्यवस्था मिलाइएको छ । यसलाई बढाउने योजना पनि बनाएकी छु ।

लकडाउनको समय गस्तीमै बिताउने योजना बनाएको छु
प्रमोद भट्टराई, चिफ वार्डेन, बाँके राष्ट्रिय निकुञ्ज

पहिले अफिसतिर बढी काम हुन्थ्यो तर अहिले खानपान समेत फिल्डतिर भइरहेको छ । अस्ति मात्रै बँदेल र चित्तलको मासु सहित शिकारी भेटिएपछि झन सतर्क गरायो । दैनिक जसो गस्तीमा जाने गरेको छु । गर्मी निकै बढेको छ तर पनि चुनौती देखिएपछि गस्ती निस्कने टुंगो छैन । निकुञ्जभित्रका वनपथ, कल्भर्टको मर्मत सम्भार तथा निर्माण गरिएका छन् । राजमार्ग सरसफाईमा लागियो अहिले राजमार्गको फोहोर सबै सफा भएको छ । गस्तीकै क्रममा एउटा बदेल पासोमा पारेको भेटियो र उद्धार गरियो । मान्छे भेटिएन । काठ चोरी तस्करी बढ्न थालेको छ । समातेका चारलाई मुद्धा चलाइ सकिएको छ । विभागले फिल्ड नछाड्न भनेपछि चितवन घरतिर जान पाइएन । आज मन्त्री र सचिवसँग भिडियो वार्ता गर्ने योजना भएकाले अफिसमा बसेको छु । नत्र यति बेला म कुन जंगलको बीचमा पुगिसेको हुन्थे । यो लकडाउनको समय गस्तीमै बिताउने योजना बनाएको छु । आफु हिडेपछि अरु कर्मचारी पनि सक्रिय हुने भएकाले फिल्डमै रातदिन बित्ने गरेको छ ।

अहिले त आराम गर्न पनि पाइएको छैन नि
भूमिराज उपाध्याय, चिफ वार्डेन, सगरमाथा राष्ट्रिय निकुञ्ज

बरु अरु समयमा खासै प्रेसर हुन्थेन । अहिले त सबैतिर लकडाउन छ । मानिसहरु सबै गाउँघरमै छन् । चोरी शिकारीले यस्तै बेला बदमासी गर्ने भएकाले हामीले चनाखो भएर काम गरिरहेका छौँ । हुन त लकडाउन अघि केही कर्मचारी बिदामा गएका थिए, हाल यहाँ भएका सबै कर्मचारीलाई परिचालन गरिएको छ । नेपाली सेनासँगको संयुक्त गस्तीलाई निकै बढाएका छौँ । निकुञ्जभित्र छिर्ने बदमासी गर्ने प्रवृति बढ्दै गएको छ । अस्ति मात्र कालिजको शिकार गरेको समुहलाई फेला पारेर कारवाहीको प्रक्रिया अघि बढाएको छु । पर्यटक कोही छैनन्, कि यहाँका बासिन्दा छन् कि हामी मात्र यो क्षेत्रमा छौँ । गस्तीमा जाँदा भेटेका मानिसलाई कोरोनाबाट बच्ने उपाय, सरसफाइ र संरक्षण विषयमा सचेत पार्दै जाने काम मात्र भएको छ जस्तो लाग्छ । मौसम निकै रमणीय छ । सगरमाथाको काखमा कोलाहल बिनाको यहाँको जीवन निकै मन्त्रमुग्ध छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here