वन उपभोक्ताले निकाले जुलुस

काठमाडौँ । निकुञ्जको मूख्य क्षेत्रभित्र पसेर वन्यजन्तुको चोरी शिकार हुन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका उपभोक्ताहरुले निकुञ्ज प्रशासन बिरुद्ध नाराजुलुस गरेका छन् ।

निकुञ्ज प्रशासनले स्थानीय समुदायसँग संरक्षणका क्रियाकलाप सञ्चालन गर्दा समन्वय नगरेको, आफ्नो मनोमानी ढंगले रुख कटान गरी होटल सञ्चालकलाई दिन थालेको, निकुञ्ज भित्र चोरी शिकारका घटनामा संलग्न व्यक्ति बुझाउँदा पनि कारवाही नभएको जस्ता आरोप लगाउँदै स्थानीय समुदायले नाम्चेमा प्रर्दशन समेत गरेका छन् ।

लकडाउनको समयका वास्ता नगरी स्थानीय समुदायले नाम्चेमा प्रर्दशन गरेका छन् । प्रर्दशनमा पाङबोचे, फोर्चे, थिङबोेचे, खुम्जुङ, खुन्द्रे, नाम्चे, फूङ्गी ढाङ्गा, लौशासा, क्याङ्जोमा क्षेत्र लगायतका मध्यवर्ती क्षेत्रमा वन उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम गोल्ज्यान शेर्पाका अनुसार निकुञ्ज प्रशासनले गरेको क्रियाकलापसँग असन्तुष्ट स्थानीय समुदायले आफ्ना असन्तुष्टि व्यक्त गरेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने, हाम्रा केही कमिकमजोरी भएका होलान् । तिनलाई सुधार गर्दै जाने र संरक्षणका लागि स्थानीय समुदायसँग मिलेर जाने प्रतिवद्धता हामीले गरिसकेका छौँ । कमी कमजोरी स्थानीय समुदायका पनि छन् । कतिपय कुराहरु उहाँले नबुझेका पनि हुन सक्छन् । ति सबैलाई हामी निराकरण गर्ने प्रयास गर्दैछौँ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here