कस्तुरी तस्करले शंख चोरेपछि …


काठमाडौँ । ‘पाप काँबाट कराउन्छ भन्दा धुरीबाट भन्थे । हो साँच्चै रैछ’ वन्यजन्तु शिकारको आरोपमा गाउँलेहरुको फन्दामा परेका कस्तुरी चोरहरुले ‘रियलाइज’ गरेपछि व्यक्त गरेका बाक्यांश हुन् यी ।

यसरी भयो घटनाको पर्दाफास

बैशाख महिनाको १३ गते सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पासोमा परेर सात वटा कस्तुरीमृग र एउटा गिद्धको मृत्यु भएको घटनासँग संलग्न व्यक्तिहरुको खोजी भइरहेको थियो । निकुञ्ज प्रशासन, स्थानीय प्रहरी, नेपाली सेना तथा स्थानीय समुदायले आआफ्नो ढंगले चोरी शिकारमा संलग्न व्यक्तिको खोजी गरिरहेका बेला स्थानीय गुम्बाको निकै पुरानो शंख चोरी भयो ।

स्थानीयले पक्राउ गरेका चोरी कार्यमा संलग्न व्यक्तिहरु ।

शंख सहित गुम्बामा रहेका प्राचिन अन्य थुप्रै सामानहरु चोरी गरेका चोरहरुबीच कुरा नमिलेपछि लकडाउनका बेला नाम्चे नजिकैको पाङेबोचे बस्तीमा चोरहरु मध्यकै एक व्यक्तिको डेराभित्र कुटाकुट समेत भयो । शंख चोरीको घटनामा कुटाकुट भएको कुरा स्थानीय व्यक्तिले समेत जानकारीमा लिए । त्यसपछि सोधपुछ गर्दै जाँदा पाङबोचे क्षेत्रमा रहेको चोरी तस्करलाई पक्राउ गरेपछि चोर समुहका अरु सदस्य नजिकैको थिङबोचेमा रहेको पत्ता लाग्यो र ती चोर समुहका सदस्यलाई फेला पार्न नसकिएको स्थानीयले बताए ।

थिङ्बोचेमा मात्र नभई चोर समुहका साथीहरु फोर्चेमा समेत रहेको जानकारी भएपछि स्थानीय समुदायले चोर पक्रन भनेर वल्लोपल्लो गाउँबाट थप मानिस बोलाएर घेरा हालेर पक्रन सफल भएको कुरा स्थानीय दावा नुरु शेर्पाले नेपालकथासँग बताए ।

पक्राउ परेका व्यक्तिलाई प्रहरीको जिम्मा लगाउँदै स्थानीय बासिन्दा ।

उनका अनुसार पाङबोचेमा चार जना पक्राउ परेको र पक्राउ परेको व्यक्तिको वयानबाट नजिकै रहेको फोर्चे गाउँबाट थप चार जना पक्राउ गरी इलाका प्रहरी नाम्चेको जिम्मा लगाइएको छ ।

हाल ती सबै आठ जनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेको आठ जना मध्य दुई जनाको विगतमा वन्यजन्तु अपराधमा प्रत्यक्ष संलग्नता देखिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले आइतवार बिहान बताए ।

उपाध्यायले भने, दुई जना व्यक्तिको त विगतदेखि नै वन्यजन्तु चोरी शिकारमा प्रत्यक्ष संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । अरु बाँकी व्यक्ति गुम्बाको सामान चोरेको आरोपमा प्रहरीले कारवाही गर्छ होला । ती दुई व्यक्तिलाई आइतवार हाम्रो जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ । ती दुई व्यक्तिको अनुसन्धान गरेर मुद्धा चलाउने कार्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here