गैँडा गणना सार्वजनिक, ७५२ पुगे एकसिँगे गैँडा



चितवन । नेपालमा पाँच वर्षपछि गैँडाको संख्या वृद्धि भएर ७५२ पुगेको छ । पछिल्लो पाँच वर्षमा १०७ वटा गैँडा बढेका छन् । यस अघि सन् २०१५ मा गरिएको गणनामा गैँडाको संख्या ६४५ थियो ।

यो वर्ष गरिएको गणनाको संख्या शनिवार चितवनमा सार्वजनिक गरिएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सो संख्या सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको संख्या अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा, पर्सामा तीन वटा, बर्दियामा ३८ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडा भेटिएका छन् ।

सन् २०२१ मा भएको गैँडा गणनामा पहिलो पटक पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुर फाँटामा देखिएको पहिलो गैँडा अर्थात् गैँडा नम्वर १ ।

यस अघि सन् २०१५ गैँडाको गणना गरिएको थियो । कोरोनाका कारण गत वर्ष हुन नसकेको गैँडा गणना यो वर्ष भएको हो । सन् २०१५ मा गरिएको गणनामा गैँडाको कुल ५६४ संख्या रहेको थियो । यसअघि सन् २०१५ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६०५, बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ वटा र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा रेकर्ड गरिएका थिए ।

यस वर्ष यही चैत ९ गतेबाट पर्सा र चितवन राष्ट्रिय निकुञ्ज कलष्टरबाट गैँडा गणना कार्य सुरुवात गरिएको थियो । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १८ गतेबाट र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १९ गतेबाट गणना सुरु गरिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गैँडा गणना गर्दा गैँडाको आहारको अवस्था, पानीको स्रोत तथा घाँसे मैदानको अवस्था, गैँडा बासस्थानको चुनौती, गैँडाको प्रजननको अवस्था लगायतका कुराहरुको पनि अध्ययन गरिएको छ ।

यस पटकको गैँडा गणनामा चितवनमा ३० वटा हात्ती, बर्दियामा १० वटा हात्ती र शुक्लाफाँटामा ६ वटा हात्तीको प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here