रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको टिमुरेमा वन्यजन्तुको मासु काटिरहेको अवस्थामा एक महिलासहित चार जना व्यक्तिलाई नेपाली सेनाले पक्राउ गरेको छ ।

भूपेन्द्र यादव, सूचना अधिकारी
लाङटाङ राष्ट्रिय निकुञ्ज
लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको विष्णुदल गणको संयुक्त गस्ती टोलीले निकुञ्जको गोसाइँकुण्ड पालिकाको वडा नं. २ को टिमुरे क्षेत्रअन्तर्गत पर्ने तातोपानीमा अवैध रूपमा वन्यजन्तुको मासु काटिरहेको अवस्थामा मासुसहित ती व्यक्तिलाई गिरफ्तार गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी भूपेन्द्र यादवले जानकारी दिएका छन् ।
पक्राउ परेको मासुमा छाला नभएकोले कुन वन्यजन्तुको मासु हो भन्ने एकिन गर्न गाह्रो भएको उनले बताए ।
पक्राउ परेको मासुलाई परीक्षणका लागि शुक्रबार विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।