म काम गर्न आएको हुँ : महानिर्देशक डा.पौडेल

काठमाडौँ । वनस्पति विभागका नवनियुक्त महानिर्देशक डा. बुद्धिसागर पौडेलले आफूले चाहेर नै विभागको नेतृत्व गर्न आएको बताएका छन् ।

पद वहाली गर्ने क्रममा डा. पौडेलले आफू विभागमा काम गर्न आएको र सबैले सहयोग गरे विभागले लिएको उद्धेश्य हासिल गर्न गाह्रो नहुने बताए ।

उनले विभागका कर्मचारीसँग भने, मैले मन्त्रालय, अरु विभाग र बाहिरी सरोकारवालाहरुसँग समन्वय, सहकार्य गर्ने काम गर्छु । तपाईहरुले इमान्दारीताका जिम्मेवारी निर्वाह गरेर काम गरिदिनुहोस् । विभागका कुनै पनि कार्यक्रम, योजना असफल हुदैनन् । सफलता हाम्रै हातमा छ ।

आठ वर्ष यता नौ वटा महानिर्देशक परिवर्तन भइसकेको वनस्पति विभागले युवा, अध्ययनशिल र इमान्दार महानिर्देशक पाउँदा खुसी भएपनि विगत केही वर्ष यता विभागमा महानिर्देशक आउने र जाने गरेकोले मनोबल उच्च हुन नसकेको अनुभव कर्मचारीले सुनाएका थिए ।

कर्मचारीको अनुभव सुनिसकेपछि विभागका नवनियुक्त महानिर्देशक डा. पौडेलले भने, म काम गर्न भनेर नै यहाँ आएको हुँ । म आफै सरुवा मागेर जाँदैन । अध्ययन, अनुसन्धानको मेरो रुचीको विषय हो । विभागलाई समय दिन्छु भनेर आएको हुँदा विभागमा सुधार गर्नु नै मेरो पहिलो लक्ष्य हुनेछ ।

विभागमा डा. पौडेलको कर्मचारीलाई स्वागत गर्नुको साथै विभागको संक्षिप्त जानकारी उपसचिव मधु घिमिरेले गराएकी थिइन् ।

बि.सं १९९४ सालमा ‘वनस्पति फाँट’बाट सुरु भएको यो विभाग ‘वनस्पति गोश्वारा’ हुँदै २०१६ सालमा वनस्पति विभागमा परिणत भएको हो ।

संघीयता कार्यान्वयन हुने क्रममा संघीय सरकारको मातहत रहन सफल यो विभागले बागमती नदीको किनारामा उपस्थित जनाए झै विगतमा वन तथा वातावरण मन्त्रालयको प्राथमिकताको सूचीमा किनारमै परेको विभाग मानिन्छ ।

विभागको नेतृत्व र मन्त्रालयसँगको सम्बन्धका आधारमा यो विभागले बजेट र प्राथमिकता पाउने विगतको इतिहासलाई वर्तमान महानिर्देशक डा. पौडेलले कसरी चिर्छन् त्यो त हेर्न बाँकी नै छ ।

यद्धपी डा. पौडेलको कार्यक्षमता र दक्षतासँग मन्त्रालयमा बस्नेहरुको पनि शंका नभएकाले उनले अगाडि बढाएका योजना र कार्यक्रमले प्राथमिकता पाउने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here