सहसचिव सरुवामा मिश्रलाई विश्वास गरिएन, दाहाललाई सिट छैन

काठमाडौँ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतका सहसचिव प्रदेशबाट सरुवा भएर मन्त्रालयमा हाजिर नहुँदै बिभिन्न अड्डामा नेतृत्व लिन पुगेका छन् ।

प्रदेशबाट हिडेका सहसचिव बाटोको म्याद ननाध्दै विभिन्न विभाग तथा महत्वपूर्ण निकायमा जिम्मेवारीको पत्र बुझ्ने क्रममा रहेका छन् ।

केही दिन अघि मात्र सामान्य प्रशासन मन्त्रालयले वन मन्त्रालय मातहत लगायतका सहसचिवको प्रदेशबाट संघ र संघबाट प्रदेशमा सरुवा गरेको थियो ।

मन्त्रालयमा हाजिर नहुँदै जिम्मेवारी पाउने भाग्यमानी सहसचिवमा डा.रामचन्द्र कँडेल, डा.महेश्वर ढकाल रहेका छन् । डा.कँडेल प्रदेश २ बाट र डा. ढकाल गण्डकी प्रदेशबाट संघमा भित्रिएका हुन् ।

कँडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक हुन पाउने निकुञ्ज विभागका अनुभवी व्यक्ति हुन् । कँडेलसँग फिल्डस्तरदेखि प्रदेश हुँदै विभागको समेत लामो अनुभव रहेको छ ।

त्यसैगरी डा. ढकालको राष्ट्रपति चुरे तराई विकास समितिका सदस्य सचिव पदमा पदस्थापन भएको छ । भूसंरक्षण विभागबाट जागिर सुरु गरेका ढकाललाई भूसंरक्षणको प्रमुख जिम्मेवारी रहेको चुरे विकास समितिमा पदस्थापन गरिनुले चुरेका कामहरु अझ प्रभावकारी बनुन् भन्ने अहिलेको नेतृत्वको चाहाना र अपेक्षा रहेको देखिन्छ ।

लेखपढ, अध्ययन अनुसन्धानमा बढी रमाउने डा. बुद्धिसागर पौडेल मन्त्रालयमा इमान्दार र शिल्पि सहसचिवका रुपमा चिनिन्छन् । दिएको जिम्मेवारी तोकिएको समयमा पूरा गर्ने सहसचिवको रुपमा उनलाई हेरिन्छ । उनलाई निकुञ्ज विभागको महानिर्देशक बनाउने हल्ला पाँच महिना अघि नै नचलेको पनि होइन ।

तत्कानिल मन्त्री प्रेम आलेसँग निकुञ्ज विभागका महानिर्देशक डा. दिपक खरालको ‘ठुस्सठास्स’ले समस्या पार्दा विभागलाई हाक्न सक्ने व्यक्ति भनेर डा. पौडेलेको हप्तादिनसम्म चर्चा चलेको थियो ।

केपी ओलीको जिल्लाको एक योजना काटिएको निहुँमा योजना महाशाखा प्रमुख रहेका सहसचिव प्रकाश लम्शाललाई अवकाश हुनै लाग्दा मन्त्रालयको योजना महाशाखाबाट रेड केन्द्रमा पु¥याइएपछि खराललाई पनि मन्त्रालय तान्ने योजना बनेको थियो । त्यति बेला निकुञ्जको महानिर्देशकका रुपमा चर्चा चलेका युवा सहसचिव डा. पौडेललाई वनस्पति विभागको जिम्मा दिइएको छ । मेघनाथ काफ्लेलाई डा. पौडेलले समालेको मन्त्रालयको वन तथा जलाधार महाशाखामा पदस्थापना गरिएको छ ।

सुदूरपश्चिमबाट संघमा भित्रिएका यज्ञनाथ दाहालको भने पदस्थापन हुन बाँकी रहेको छ । रिसर्च समुहका दाहालको मन्त्रालयमा सरुवा भएपनि मन्त्रालयमा सिट खाली छैन । दाहालभन्दा सिनियर यमकुमार पोखरेल महानिर्देशक भएकाले कि त दाहाललाई अब रिसर्चमा खाली रहेको उपमहानिर्देशकमा सरुवा गरिने छ भने कि मन्त्रालयमा रहेका जफका कुनै एक सहसचिवलाई वन विभागको उपमहानिर्देशकमा सरुवा गरेर कि त प्रदेश २ मा कुनै सहसचिवलाई पठाएर दाहालका लागि मन्त्रालयमा व्यवस्थापन गरिने छ ।

केही समय राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव हुँदै सुदूरपश्चिम प्रदेशको सचिवमा उल्लेखनीय काम गरेर फर्केका दाहालको सत्ता साझेदारीमा रहेका दलका प्रमुखसँग राम्रो पहुँच भएकाले उनले अनुसन्धान विभागको उपमहानिर्देशक भन्दा पनि मन्त्रालयमा गतिलो महाशाखामा बस्न रुची देखाएका छन् ।

सहसचिव भइसकेपछि जुनसुकै विभागको महानिर्देशक हुन पाउने प्रावधानको सदुपयोग गर्दै दाहाल जुनसुकै विभागको महानिर्देशक हुने हैसियत राख्न सक्ने भएपनि अहिलेको पदस्थापनले केही समयका लागि उनको त्यो बाटो रोकिदिएको छ ।

तर मन्त्रीपरिषदको गठनमा वन मन्त्रालय कुन पार्टीको भागमा पर्ने भन्ने कुराले पनि अहिलेको पदस्थापनलाई निर्धारण गर्ने देखिन्छ । दाहालको मन मिल्ने पार्टीको भागमा वन मन्त्रालयमा परेमा दाहाल कि त मन्त्रालयमा बसेर मन्त्रीको दाइने भएर काम गर्नेछन् कि त कुनै पनि विभाग रोजेर नेतृत्व सम्हाल्ने सम्भावना अझै टरेको छैन ।

मन्त्रालयमा लामो समयदेखि सहसचिव पदमा कार्यरत बिन्दु मिश्रले पाए प्रदेशको सचिव, नभए विभागतिर जाने इच्छा व्यक्त गरे पनि अहिलेको नेतृत्वले उनी माथि खासै विश्वास गरेको देखिएन । हुन त प्रदेश २ मा सचिव भएर डा. कँडेल फर्केपछि त्यहाँ प्रदेश सचिव खाली रहेको छ तर पनि मन्त्रालयको अहिलेको नेतृत्वले मिश्रलाई प्रदेश २ को सचिवमा जिम्मेवारी दिन विश्वास गरिसकेको स्थिति छैन ।
मिश्रको अब अवकाश हुन धेरै समय पनि छैन । मुश्किलले एक वर्ष बाँकी जागिरे अवधिमा प्रदेशको सचिवको अनुभव लिन मिश्रले इच्छा व्यक्त गरेको त धेरै भइसक्यो तर पनि उनको त्यो इच्छा पूरा कहिले होला भन्न सकिने अवस्था छैन । तर तत्कालै यज्ञनाथ दाहाललाई मन्त्रालयमा

व्यवस्थापन गर्नुपर्दा वन तथा भूसंरक्षण विभागमा खाली रहेको उपमहानिर्देशक पदमा मिश्रलाई पठाउन सक्ने सम्भावना बढी देखिन्छ । वन विभागमा हाल महानिर्देशकमा मनबहादुर खड्का र दुई जना उपमहानिर्देशक छन् । यस अघिका उपमहानिर्देशक देवेशमणि त्रिपाठी र बद्रीराज ढुंगाना प्रदेशतिर सरुवा भइसकेका छन् ।

निकुञ्जको खासै अनुभव नभएका डा. खराल ओली सरकारको पालामा मौकामा चौका हान्दै निकुञ्ज विभागको महानिर्देशक भएका थिए । उनको विभागीय नेतृत्व खासै उपलब्धीमूलक नदेखिएपनि सुदूरपश्चिम र गण्डकी प्रदेशको जस्तो अल्पकालमा सरुवा हुनु पर्ने स्थिति भने विभागमा बस्दा देखिएन । सायद यही कुराको मूल्याङ्कन बालुवाटारले गरेर होला उनलाई रेड प्रमुख बनाइएको छ ।

लामो समय बागमति प्रदेश बसेर फर्केका मन्त्रालयमा शिब वाग्ले यथावत छन् भने जलवायु परिवर्तन महाशाखाका जिम्मेवारी लिएर डा. राधा वाग्ले वर्षाैदेखि थन्किएका काम फत्ते पार्न सफल देखिन्छन् । अरुले थन्काएका काम फत्ते गर्ने सहसचिव डा. वाग्लेलाई सोही जिम्मेवारीमा राखिएको छ ।

कोभिडको सन्त्रासका बेला कोरोना पीडित भएर पनि बिगत लामो समयदेखि थन्केर बसेका जलवायु परिवर्तनसँग सम्बन्धित नेपाल राष्ट्रका प्रतिवेदन तयार गरेको जस उनै सहसचिव डा. बाग्लेलाई जान्छ । अहिलेको पदस्थापनमा डा. बाग्लेले कोरोना कालमा जोखिम मलेर भएपनि गरेको महत्वपूर्ण कामको मूल्याङ्कन गर्दै अन्यत्र सरुवा नगरिएको मन्त्रालयको भनाई छ ।
प्रदेश अनि वनस्पति विभागको अनुभव लिइसकेका धनञ्जय पौडेलले मन्त्रालय नछाड्ने भनेपछि उहाँको कुर्शि मन्त्रालयमा सुरक्षित रह्यो ।


सरुवाको योजना कहिले बन्यो ?

वन तथा वातावरण मन्त्रालय समेत समालेका प्रधानमन्त्री देउवाले संघबाट प्रदेशमा सहसचिव पठाउने र प्रदेशबाट संघमा बोलाइएका सहसचिवको पदस्थापनको योजना भदौको पहिलो हप्ता एकै पटक बनाएका थिए । यस पटकको सरुवा र पदस्थापनमा बालुवाटारले बढी चाँसो देखाएको छ ।

बिभिन्न छलफल र मूल्याङ्कन पछि सहसचिवलाई प्रदेश पठाउने र फिर्ता आएका सहसचिवको पदस्थापन गर्ने टुङ्गो भदौमै लागेको हो ।

बालुवाटार स्रोतले नेपालकथालाई दिएको जानकारी अनुसार यस पटक डिएफओहरु प्रदेशतिर गएकाले सरुवाको कुरो खासै ठूलो विषय बनेन ।

बालुवाटार स्रोतले भन्यो, काम गर्ने इमान्दार, हिजो देखि पेलिएका र बरिष्ठलाई न्याय दिनु पर्छ भन्ने एक किसिमको मापदण्ड निर्माण गरेर ल्याउनुहोस भनेर निर्देशन दिइएको थियो । त्यसै अनुसार व्यक्तिको क्षमता अनुसार पदस्थापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here