हात्ती संरक्षणको समस्या सबै मुलुकमा उस्तै

काठमाडौैैँ । एसियाली हात्ती पाइने १३ वटा मुलुकको तेस्रो बैठक काठमाडौँमा सुरू भएको छ । बैठक तीन दिनसम्म सञ्चालन हुने छ ।

बैठकमा सहभागी मुलुकका उच्च सरकारी अधिकारी, अध्ययन अनुसन्धानकर्ता, प्राध्यापक, संरक्षणविज्ञ लगायतको सहभागिता रहेको छ ।

वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले बैठकको उद्घाटन गरे । मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले हिन्दु, बौद्ध धर्मावलम्बीले गणेशका अवतार मानेर पूजा गर्ने भएकाले दक्षिण एसियाली मुलुकमा हात्तीको संरक्षणमा सहजता भएपनि चुनौतीहरु भने यथावत रहेको बताए ।

उनले मानव र वन्यजन्तुको सहअस्तित्व विना मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण र संरक्षणका अभियान प्रभावकारी हुन नसक्ने बताए ।

बैठकमा भारत, भूटान, इण्डोनेशिया, थाइल्याण्ड, चीन, बंगलादेश, कम्बोडिया, लाओस, श्रीलंका, म्यानमार, भियतनाम, नेपाल, मलेसिया लगायतका देशले आफ्नो मुलुकमा हात्तीको अबस्था, बासस्थान, संरक्षणका लागि भएका कार्यक्रम, दीर्घकालिन तथा अल्पकालिन नीतिहरु बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

सबैका समस्या उस्तै

एसियाली हात्ती पाउने सबै मुलुकका समस्या उस्तै रुपमा प्रस्तुत भए । दक्षिण एसियाली सबै मुलुकहरु विकाशोन्मुख भएकाले विकासको बढी चाहाना हुँदा वन्यजन्तुको बासस्थान मासिँदै जाने समस्या सबै मुलुकका प्रतिनिधिहरुले एकस्वरमा उठाए ।

अवैध चोरी शिकार तथा हात्तीको बिभिन्न अंगहरुको अवैध व्यापारको समस्या पनि हात्ती संरक्षणका लागि साझा चुनौतीका रुपमा उठाइयो ।

हात्ती संरक्षणमा विद्यमान कानूनको प्रभावकारी कार्यान्वायन, कानूनमा संशोधन, जलवायु परिवर्तनको असर लगायतका समस्या सबै मुलुकका प्रतिनिधिहरुले उठाए । पूर्वाधारको विकाससँगै बासस्थान खण्डिकरण, स्थानीय समुदायलाई हात्तीको बासस्थान, चरिचरन र आनीबानीका बारेमा यथेष्ट ज्ञान हुन नसक्दा हात्ती संरक्षणमा चुनौती थपिदै गएको कार्यपत्र बैठकमा प्रस्तुत गरिए ।

बैठकका सहभागी मुलुकहरुले आआफ्नो देशभित्र हात्ती संरक्षणका लागि तय गरेको नीतिगत व्यवस्था, मानव वन्यजन्तु न्यूनीकरणका लागि भए, गरेका प्रयास, राहतको व्यवस्था, संरक्षणमा स्थानीय सहभागिताको अभ्यास, संरक्षणका लागि अवलम्बन गरेका प्रविधि ज्ञान बारे अनुभव आदान प्रदान गरिने भएको छ ।

हात्तीको जैविक मार्गको व्यवस्थापन तथा संरक्षण, हात्तीको बासस्थानमा पूर्वाधार निर्माणलाई व्यवस्थित गर्ने विधि, हात्ती संरक्षणका लागि दुई देशबीचको अपन्याउनुपर्ने सहकार्य लगायतका विषयमा पनि छलफल गरी टुङ्गोमा पुग्ने बताइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले हात्ती पाउने सबै मुलुकका साझा समस्या समाधानका लागि साझा धारणा निर्माण गरी काठमाडौँ घोषणापत्र पनि जारी गरिने बताए ।

बैठकले हात्ती मुलुकहरुबीच दुई देशीय र बहुदेशीय सहयोग, सहकार्य तथा समन्वयको खाका समेत कोर्ने बताइएको छ । हात्ती संरक्षणमा अबलम्वन भएका सफल प्रविधि र नीति तथा कार्यक्रमको अनुभव आदान प्रदान गरिने भएको छ ।

बैठकमा नेपालका तर्फबाट राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालले नेपालमा हात्ती संरक्षणको अवस्था बारे प्रस्तुती गरेका थिए ।

बैठकमा नेपालबाट हात्ती पाइने संरक्षित क्षेत्रहरु चितवन, बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, झापा र बर्दिया जिल्लाका डिभिजनल वन अधिकृत, राष्टिय निकुञ्ज विभाग, वन तथा भूसंरक्षण विभाग , नेपाली सेना, संरक्षण साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here