गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजना सुरु

काठमाडौँ । गण्डकी नदी बेसिनलाई आधार मानेर गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजना सुरु भएको छ ।

सो आयोजनाको काठमाडौँमा स्थापना कार्यशाला आयोजना गरियो । कार्यशालामा वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले आयोजनालाई प्रभावकारी रुपमा कार्यान्वायन गर्नु अबको आवश्यकता भएको बताए ।

ग्रिन क्लाइमेट फण्डको आर्थिक सहयोगमा ठूलो आयोजनाको रुपमा सञ्चालन हुन थालेकोले यसलाई सफल पार्न सबैको सहयोग र समन्वयको खाँचो रहेको उनले बताए ।
कार्यक्रममा वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केशीले आयोजनालाई सफल पार्न सबैको उत्तिकै सहयोग र साथ चाहिएको कुरामा जोड दिए ।

आयोजना बारे विभागका उपमहानिर्देशक उद्धबबहादुर घिमिरेले प्रकाश पारेका थिए ।
सात वर्ष अवधि रहेको आयोजनाको कार्यान्वयन आइयूसिएन र एनटीएनसीले गर्ने भएका छन् ।
गण्डकी जलाधार क्षेत्रभित्र पर्ने २० वटा जिल्लामा आयोजना लागु हुने भएको छ ।

लमजुङ, चितवन, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, नवलपरासी, मकवानपुर, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, रसुवा, नवलपुर, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नुवाकोट र पाल्पा जिल्लामा कार्यक्रम लागु हुने आयोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक डा. केशीले जानकारी दिए ।

आयोजनाले जलवायु समानुकुलित कृषि वनको अभ्यासहरु सञ्चालन गर्ने, बाढी, पहिरो नियन्त्रणका लागि प्रकृतिमा आधारित संरचना निर्माण गर्ने, ससाना सिँचाई आयोजना सञ्चालन गर्ने, सिमसार क्षेत्रको पुर्नस्थापना तथा पुर्नभरण गर्ने र नयाँ पानी पोखरीहरु निर्माण गर्ने, हरित क्षेत्र निर्माणका लागि ठूलो क्षेत्रमा वृक्षरोपण गर्ने लगायतका कामहरु आयोजनाले गर्ने भएको छ ।

वनजंगल क्षेत्र विनाश हुन थालेको क्षेत्रमा पुर्नउत्पादनको लागि काम गर्ने, तीनै तहका सरकारी संरचना र स्थानीय तहका समुदायस्तरीय संरचना र पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने लक्ष्य आयोजनाले राखेको छ । आयोजनाको फिल्ड कार्यालय कास्की र कुलेखानीमा रहने सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here