डा.केशीलाई कारवाही हुन्छ : मन्त्रीको सचिवालय

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवको सचिवालयले वन तथा भूसंरक्षण विभागको महानिर्देशक पदबाट वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उपमहानिर्देशक पदमा सरुवा भएका डा. राजेन्द्र केशी हाजिर हुन नगए कारवाही हुने चेतावनी दिएको छ ।

जलवायु परिवतन सम्बन्धी एक कार्यक्रममा मन्त्रालयका सहसचिव डा. बुद्धिसागर पौडेललाई लिएर सोमबार सेनेगल तर्फ उडेका मन्त्री यादवले उड्नु अघि डा. केशीको सरुवा फायलमा हस्ताक्षर गरेका थिए ।

महानिर्देशक पदमा रहेको व्यक्तिलाई अपमानपूर्ण तरिकाले उपमहानिर्देशकमा सरुवा गरेपछि मन्त्री यादवको कार्यशैलीको चौतर्फी आलोचना भइरहेको छ । निर्णय सच्याएर डा. केशीलाई न्याय दिनुपर्ने सन्दर्भ चलिरहेका बेला मन्त्री यादवको सचिवालयले भने उपमहानिर्देशक पदमा नगए कारवाही सहनु पर्ने बताएको छ ।

सचिवालयका एक अधिकारीले बुधबार नेपालकथासँग भने, ‘ उहाँको निर्णय गरेर मन्त्री ज्यू विदेश उड्नुु भएको छ । उहाँ आउन्जेलसम्म निर्णय कार्यान्वयन भएको हुनुपर्छ । मन्त्रीको निर्णय कार्यान्वायन भएन भने मन्त्री बस्नुको के अर्थ ? निर्णय नमान्नेलाई कानूनी कारवाही हुन्छ । हामीले जान्ने कुरा यत्ति हो ।’

प्राप्त जानकारी अनुसार मन्त्री यादवले आफू चुनावी सरकारको मन्त्री भएकाले रकम जोहो गर्नुपर्ने भन्दै आएका छन् । उनी मन्त्री भएर आएपछि जवरजस्ती ढंगले केही सिमेन्ट उद्योगको विगत लामो समयदेखि रोकिएका फायलहरु स्वीकृत गरेर उनले चुनाव रकमको जोहो गर्न खोजी रहेका छन् । जसका लागि डा. केशी बाधक बन्दा उनको अपमानपूर्ण तरिकाले सरुवा गरिएको हो ।

मन्त्री यादवले पद वहाली गरेको दिनदेखि नै विशेष गरी मारवाडी समुदायको बाक्लो उठबस मन्त्रालयमा हुने गरेको छ । जुन समुदायले यही मौका छोपेर स्वीकृत मापदण्डभन्दा पनि बढी क्षेत्रफलमा खानी सञ्चालन गर्नका लागि चलखेल गरिरहेका छन् भने नयाँ उद्योगधन्दासँग सम्बन्धित फायलहरु सहजै पारित गराउन लागि रहेका छन् । कतिपय कारवाही गर्नुपर्ने उद्योगका फायलहरु वतावरण विभागबाट मिलाउने प्रयासमा मन्त्री यादव लागि रहेका छन् ।

यातायात विभागको महानिर्देशकबाट भरखर सरुवा भएर आएका वातावरण विभागका महानिर्देशक नमराज घिमिरेलाई पटक पटक मन्त्रालयमा बोलाएर व्यापारीहरुका अगाडि रिसाउने, डाँठ्ने गरेका मन्त्री यादवले घिमिरेलाई पनि काम नगरे सरुवा गरिदिने धम्की दिँदै आएका छन् ।

केशीको व्यवस्थापन हुन्छ ः सचिव कँडेल

मन्त्री यादवको सचिवालयले डा. केशी उपमहानिर्देशक पदमा हाजिर हुन नगए ऐन, कानून अनुसार कारवाही गर्ने चेतावनी दिएपछि नेपालकथाले मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलसँग जिज्ञासा राख्दा उनले भने, ‘डा. केशी इमान्दार मान्छे हुन् । उनको उचित व्यवस्थापन हुन्छ । त्यसैका लागि म लागि रहेको छु । मैले मेरो कर्मचारीलाई अन्यायमा पर्न दिन्न । म कर्मचारीको पक्षमा लड्छु ।’

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here