बरु जागिर छोड्छु, अपमान सहदिँन

काठमाडौँ । वन मन्त्रालयभित्र इमान्दार कर्मचारीको छवि बनाएका डा. राजेन्द्र केशीले मन्त्रीको अपमान सहेर बस्नु भन्दा जागिर छाड्न सक्ने बताएका छन् ।

उनले भने, ‘‘यो घटनाले मलाई अन्यायमा पारेको देखिएपनि यो मुलुकभरका सबै निजामति कर्मचारीको अपमान हो । अन्याय हो । महानिर्देशक पदमा बसिरहेको मानिस घटुवा भएर बस्न सक्ने स्थिति हुँदैन । यो भावी पुस्ताका लागि पनि दुर्भाग्यपूर्ण हुने हुँदा बरु जागिर छाड्न सक्छु, उपमहानिर्देशक पदमा जान सक्दिन ।’’

महानिर्देशक डा. केशीले भने, ‘‘मैले ऐन कानूनको दायरामा बसेर काम गरेको छु । कसैको व्यक्तिगत स्वार्थ पूर्ति जोसुकै व्यक्ति आएपनि गर्न सक्दैन । मैले ठाउँ खाली गरिदिन्छु, मलाई सरुवा गरिदिनुहोस् भनेर धेरै दिन पहिले भनिसकेको थिए । सरुवा त भयो, यो अपमान सहन नसक्ने गरी भयो । साह्रै पीडा भएको छ ।’

यो घटनाले वन मन्त्रालयको कर्मचारी त्रसित बनेका छन् । वन मन्त्री प्रदीप यादवको बोली, व्यवहार र काम गर्ने तौरतरिकाले सकभर मन्त्रीको कोठामा छिर्न नपाए हुन्थ्यो भन्ने मानसिकतामा मन्त्रालयका कर्मचारी पुगेका छन् ।

डा. केशीको सरुवासँगै मन्त्री यादवले अरु विभागीय प्रमुखका घाटीमा ‘सिरुपाते तरबार’ झुण्डयाइदिएका छन् । तरबार जुनसुकै बेला जसको गर्धनमा पनि सोझिन सक्छ । काम गरेनौ भने भोली जुनसुकै बेला उपमहानिर्देशक पदमा घटुवा भएर जान सक्छौ भन्ने सन्देश मन्त्री यादवले दिन खोजेका छन् ।

निजामति कर्मचारीको इतिहासमा महानिर्देशकबाट उपमहानिर्देशक पदमा सरुवा गरिएको यो पहिलो घटना भएको कर्मचारी वृतमा चर्चा चल्न थालेको छ । यस अघि पनि विभागीय प्रमुख भइसकेको व्यक्तिलाई क्षेत्रीय निर्देशनालयमा सरुवा गरिएको थियो तर त्यतिबेला मन्त्रालयको सचिव मातहत ती निर्देशनालय रहने व्यवस्था थियो ।

मात्रिका यादवको पथमा हिड्न खोजेका प्रदीप यादवले हाल बहालबाला जुनसुकै महानिर्देशक पनि भोली नै उपमहानिर्देशक पदमा सरुवा हुन सक्ने नजिर बसाल्नका लागि यो काम गरिरहेका छन् । यो नजिर बसाल्न सक्यो भने उनले चाहेको काम कर्मचारीले गर्न सक्छन् नसक्नेले घटुवा भएर सरुवाको डन्डा खान राजी हुनुपर्ने हुन्छ ।

डा. केशीलाई महानिर्देशक पदबाट अपमानपूर्ण ढंगले उपमहानिर्देशक पदमा घटुवा सरुवा गरेपछि नेपालको निजामति कर्मचारीको इतिहासमा कालो घटनाको रुपमा स्थापित भएको छ ।

मन्त्री र कर्मचारीको सबै किसिमको कुरो मिल्छ भन्ने छैन । विद्यमान ऐन, कानूनको परिधिमा रहेर काम गर्ने माहौल सिर्जना गर्नु मन्त्रीको ठूलो जिम्मेवारी हुन्छ । मन्त्री रिसाउनु पर्छ, खुसाउनु पनि पर्छ तर वर्तमान मन्त्री यादव त मेरो गोरुको बाह्रै टक्का शैलीमा काम गर्न थालेका छन् । उनको सचिवालयका मानिसले विभागीय प्रमुखलाई टेलिफोनमै थर्काएर बोलाउने गरेका गुनाशो आउन थालेको छ ।

कर्मचारीका लागि मन्त्री सम्मानित पद हो तर मन्त्रीको छोराले सचिवालयमा बसेर थर्काउँदा कति सुहाउने कुरो हो ? जुँगाको रेखी नबसेको मन्त्री पुत्रले जागिरे जीवनको उत्तरार्धमा पुगेका मन्त्रालयका बरिष्ठ अधिकारीसँग गर्ने व्यवहार अहिले वन मन्त्रालयमा चर्चा हुने गरेको छ ।

मन्त्रालयका एक जना सहसचिवले भने, ‘‘वन मन्त्री प्रदीप यादवले जबरजस्ती ढंगले आफ्ना स्वार्थ पूर्ति हुने कामका फायलहरु अघि बढाउन खोज्दा वन मन्त्रालयको प्रशासन संयन्त्र तहसनहस हुने स्थितिमा पुगेको छ ।’

वन मन्त्री भएर आएपछि प्रदीप यादवले राष्ट्रपति, प्रधानमन्त्रीसँगै आफ्नो फोटो भित्तामा झुण्डयाउन निर्देशन दिए । फोटो तयार पार्ने कामको जिम्मा दिइयो । एकाध घण्टाको दौरानमा कुनै सहयोगीले बहालबाला वन मन्त्रीको मात्र फोटो झण्डयाउँदा अनर्थ लाग्ने भएकाले पुराना वन मन्त्रीको फोटो पनि राख्न पाए राम्रो हुने सुझाव दिए ।

त्यसपछि पुराना वन मन्त्रीको नाम हेर्दै, फोन नम्बर टिप्दै, उनको कार्यकालको समय रेकर्ड राख्दै, ती पूर्व वन मन्त्रीको फोटो माग्दै, छाप्दै टास्ने काम भयो । वन विभागसँग सम्बन्धित भएको काम लिएर एकजना मारबाडीले मन्त्रीहरुको फोटो झुण्डयाएको लहर देखेर खुब प्रशंसा गरेको गाइगुई मन्त्रालय भरी छायो । शक्ति बस्नेत मन्त्री हुँदा चिटिक्क पारेको मन्त्रीको कोठा हाल फोटो झुण्डयाउने नाउँमा किलै किलाले भताभुङ पारिएको छ । बस्नेतले सिँगारेका भित्ता यादवले भत्काए । केबल आफ्नो तस्बिर झुण्डयाउने स्वार्थले ।

सरुवाको दिन के भयो ?

ती मारबाडीले मन्त्रीहरुको फोटो झुण्डयाएको लहरको प्रशंसा सुनेर खुसी भएका मन्त्रीले तत्कालै वन विभागका महानिर्देशक डा. केशीलाई बोलाएर केही काम गर्न लगाए । त्यो काम धेरै दिनसम्म पनि हुन सकेन । जो नियमले मिल्दैनथ्यो ।
सोही कामको विषयलाई लिएर मन्त्रीले डा. केशीको मानमर्दन हुने गरी केही आरोप लगाए । जुन आरोप डा. केशीका लागि सह्य भएन । उनले त्यसको प्रतिवाद गरे । बरु ठाउँ छोडिदिएर सहयोग गर्ने बताए । नियम उछिनेर काम गर्न सक्ने मान्छेलाई लिएर महानिर्देशक बनाउन आग्रह गरे ।

डा. केशीले झुठा लान्छना नलगाउन आग्रह गरे मन्त्रीसँग । लान्छनाको प्रमाण दिन चुनौती दिए । वन मन्त्रालयको कार्यालय सहयोगी देखि उपल्लो दर्जासम्मलाई आफ्नो बारेमा बुझेर मात्र बोल्न आग्रह गरे ।

नियमले मिल्ने सबै काम आफूले गर्न सक्ने तर नियमले नमिल्ने कुरा जेसुकै भएपनि आफ्नो हातबाट हुन नसक्ने कुरो राखेर मन्त्रीको कोठाबाट साँझ ६ बजे निस्केका डा. केशीले ७ बजे सरुवा भएको खबर प्राप्त गरे । खबर दिनेले कुन ठाउँमा भन्ने खुलाएन तर पछि थाहा भयो, महानिर्देशकबाट घटुवा भएर उपमहानिर्देशकमा सरुवा गरिएको रहेछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here