वन विभागको महानिर्देशकमा त्रिपाठी

काठमाडौँ । वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा सहसचिव देवेशमणी त्रिपाठीलाई सरुवा गरिएको छ ।

मन्त्रालयका स्रोतका अनुसार उनलाई आजै मन्त्रालयले सरुवाको चिठ्ठी बुझाउने तयारी गरेको छ । सम्भवत त्रिपाठीले आजै विभागको महानिर्देशकको पदवहाली गर्ने छन् ।

डा. राजेन्द्र केशीको सरुवा प्रकरणमा वन तथा वातावरण मन्त्री प्रदीप यादव बिबादमा मुछिएपछि उनको विभागको सरुवा पनि केही दिन रोकिएको थियो ।

बिबादित मन्त्रीले आफ्नो निर्णय सच्याएर यस अघिका महानिर्देशक डा.राजेन्द्र केशीलाई मन्त्रालयमा सरुवा गर्न बाध्य भएपछि विभागमा त्रिपाठी जान थालेका हुन् । त्यसैगरी सहसचिव धिरेन्द्र प्रधानलाई मन्त्रालय सरुवा गरिएको छ ।

मन्त्री यादवले डा. केशीलाई अपमानजनक तरिकाले जिम्मेवारी घटुवा गरी उपमहानिर्देशक पदमा सरुवा गरेपछिको घटनामा त्रिपाठीले पनि बिरोध गरेका थिए र आफू डा. केशीको साथमा रहेको सामाजिक सञ्जालमा आफ्नो धारणा स्पष्ट पारेका थिए । उनले बरु राजीनामा दिने तर डा.केशीको अपमानजनक सरुवाको विपक्षमा उभिने अडान लिएका थिए ।

को हुन त्रिपाठी

अलि खरो स्वभावका त्रिपाठी वन परिसरभित्र तुलनात्मक रुपमा स्वच्छ छवि भएका वन अधिकृतका रुपमा चिनिन्छन् । दर्जनौँ जिल्लामा वन अधिकृत भएर बस्दा खासै बिबादमा नतानिएका र कमाउने धन्दामा नलागेका वन अधिकृतमा सूचीमा उनको नाउँ पर्छ ।

२०४८ सालमा तराई सामुदायिक वन विकास परियोजनामा अधिकृत पदमा जागिर खाएका त्रिपाठीले पछि स्थायी भएपछि सर्लाही जिल्लाको सहायक वन अधिकृत भएर काम गर्ने अवसर पाएका थिए । जिल्ला वन अधिकृत रमेश चन्दको सहायक भएर काम गरेका त्रिपाठीले चन्दको स्वभावलाई जीवनभर पछयाइरहेका छन् । रमेश चन्द इमानको जागिरे जीवन बिताएका असल वन अधिकृत हुन् । ११ महिना रमेश चन्दसँग काम गरेका त्रिपाठी त्यहाँबाट झापा सरुवा भए ।

झापामा अतिक्रमणको काममा सफलता प्राप्त गरे । झापाबाट राजनीतिक कारणले दार्चुला लखेटिएका त्रिपाठी २०६२ सालमा उपसचिव भए । माओबादी जनयुद्ध चलिरहेको बेला झण्डै तीन वर्ष रोल्पा जिल्ला वनलाई हाँक्ने आँट गरे । त्यतिबेला रुकुम, रोल्पा कसैले जान नमाने पनि त्रिपाठीलाई सरुमा त पेलेरै पठाइयो पछि फिर्ता कसैले बोलाएन ।

डडेल्धुरा, सुर्खेत, बैतडी, कञ्चनपुरमा सफल डिएफओ भएर चलाएका त्रिपाठी सहसचिव हुने हुने बेला अदालत धाउने वन अधिकृत पनि हुन् । लामो समय पदोन्नतीको विषयलाई लिएर अदालत धाएका त्रिपाठीले २०७६ सालमा सहसचिवमा बढुवा पाए ।

पाँचथर बस्दा रेडपाण्डा संरक्षणमा उल्लेख्य काम गरेको त्रिपाठीले सागरनाथ वन परियोजनाको तीन हजार हेक्टर अतिक्रमित क्षेत्र खाली गराउन सफल भए । तत्कालिन वन मन्त्री शक्ति बस्नेतले त्रिपाठीलाई अतिक्रमण क्षेत्र हटाउने काममा साथ दिएका थिए ।

सहसचिव भएपछि वन विभागको उपमहानिर्देशक भएका त्रिपाठी पछिल्लो एक वर्ष सुदूरपश्चिम प्रदेशको वन सचिव भएर काम गरे ।

प्रदेश सचिवमा रोजेर गएका त्रिपाठीका लागि सुदूरपश्चिममा वन मन्त्री फेरिएसँग खासै सुखद रहन सकेन । यद्धपी विना बिबाद सुदूरपश्चिम प्रदेशबाट कि लुम्बिनी प्रदेशको सचिव कि वन विभागको महानिर्देशक भन्ने मिसन लिएर हिडेका त्रिपाठी वन विभागको महानिर्देशक पदमा बहाली लिने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here