जलवायु परिवर्तनसँगै वायु प्रदुषणको समस्या

काठमाडौँ । वायु प्रदुषण विश्वकै लागि प्रमुख समस्याको रुपमा देखा पर्न थालेको छ । विश्व तापक्रमको वृद्धि र जलवायु परिवर्तनको असरले आक्रान्त भइरहेका बेला वायु प्रदूषकै कारण कारण विश्भरी वार्षिक ३० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु हुने गरेको विश्व बैँकले सार्वजनिक गरेको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन २०७९ देखाइएको छ ।

यसबाट के देखिन्छ भने विश्वका सबैजसो जनसंख्या वायु प्रदुषणको असरबाट असुरक्षित तहमा पुगिसकेको छ । जलवायु अनुकुलनका कार्यक्रमबाट सुरक्षित भएपनि वायु प्रदुषणको पीडा भने विश्वका सबै मानिसले भोग्नुपर्ने अवस्था आएको प्रतिवेदनमा देखाइएको छ ।

वायु प्रदूषणबाट वार्षिक रुपमा कूल गार्हस्थ उत्पादनको करीब ६.५ प्रतिशत बराबरको रकम लोक कल्याणकारी काममा घाटा भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनले नेपाललाई थप चुनौतीपूर्ण मुलुकको रुपमा देखाएको छ ।

नेपालमा विशेष गरी जलवायु परिवर्तनको असरले भविष्यमा विपद् जोखिम बढ्दै जाने र मानिस, अर्थतन्त्र, वातावरण र विकासका उपलब्धिहरू प्रभावित हुने आँकलन पनि प्रतिवेदनमा गरिएको छ । सन् २०१६ देखि सन् २०४५ सम्मको अवधिमा नेपालको तापक्रम करिब ०.९ डिग्री सेल्सियसले वृद्धि हुने प्रक्षेपण गरिएको छ । यो प्रक्षेपणले नेपालका आगामी दिन थप चुनौतीपूर्ण रहेको सहजै अनुमान गर्न सकिन्छ ।

पछिल्ला दिनमा विशेष गरेर हिउँदयाम अझ बढी सुक्खा र बर्खाको बेला आकाशका पानी तीन गुणा वृद्धि भई मनसुन याम अझ बढी जोखिमयुक्त हुने प्रतिवेदनले अनुमान गरिएको छ ।

जलवायु परिवर्तनको प्रभावका कारण नेपालका नदीमा आउने बाढीले गर्दा हरेक वर्ष प्रभावित हुने मानिसको संख्या आगामी एक दशकमा दोब्बर हुने प्रक्षेपण पनि गरिएको छ । यो प्रक्षेपण झन डरलाग्दो किसिमका रहेको छ ।

विश्व बैँकको प्रतिवेदनमा वायु प्रदुषणबाट सन् २०१० मा एक लाख ५७ हजार मानिस प्रभावित भएकोमा सन् २०३० भित्रमा यस्तो संख्या तीन लाख ५० हजार नाघ्ने आकलन गरिएको छ ।

जलवायु परिवर्तनका कारण कृषि उत्पादकत्वमा ह्रास, पूर्वाधारमा क्षति र सुक्खा याममा ऊर्जा आयातमा उच्च वृद्धि हुँदा नेपाली अर्थतन्त्र प्रभावित हुँदै गरेको प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको छ । नेपालको गत ४० वर्षको अवधिलाई विश्लेषण गर्दा बाढी र पहिरो सबैभन्दा बढी क्षति हुने गरेको देखिएको छ ।

जलवायु परिवर्तनका कारण नेपालमा खाद्य असुरक्षा देखिन थालिसकेको र आगामी दिनमा यसले झन विकराल रुप लिने प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनमा जलवायु परिर्वतनका कारण जलस्रोतको क्षेत्र गम्भीर रुपमा प्रभावित पारिरहेको उल्लेख गरिएको छ । बढ्दो तापक्रमका कारण नेपालमा मात्र नभई दक्षिण एशियाली क्षेत्रमा स्वच्छ पानी आपूर्तिको महत्वपूर्ण स्रोतका रुपमा रहेको उच्च हिमनदीको भविष्य जोखिममा पर्न सक्ने तर्फ सचेत हुन आग्रह गरिएको छ ।

बढ्दो ताफक्रम र जलवायु परिवर्तनले वर्षाको चरित्रमा समेत फेरबदल ल्याइरहेको र भविष्यमा झन ल्याउने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालको ठूलो लगानी जलविद्युत्का क्षेत्रमा भइरहेको अवस्थामा पर्याप्त पानी उपलब्ध नहुँदा साना जलविद्युत आयोजनामा तत्कालैदेखि असर पर्न सक्ने प्रक्षेपण गरिएको छ ।
त्यसैगरी प्रतिवेदनल कृषि व्यवसाय प्रभावित भई कृषिमा आश्रित समुदायको जीविकोपार्जनका लागि खाद्य असुरक्षाको समस्या सिर्जना हुने जोखिमे देखाएको छ ।

प्रतिवेदनले भौतिक पूर्वाधारमा बाढीजन्य घटनाको प्रभाव, श्रम उत्पादकत्व र स्वास्थ्यमा तापक्रम वृद्धिको प्रभाव र कृषि एवं पशुधनमा तापमान वृद्धिको प्रभावबाट सन् २०५० भित्रमा नेपालको अर्थतन्त्र ७ प्रतिशतले सानो हुन सक्ने डर लाग्दो अनुमान गरेको छ ।

प्रतिवेदनले जलवायु परिवर्तन सिर्जित जोखिमसँग लड्न विभिन्न उपायहरू पनि कार्यान्वायन गर्न पनि सुझाव दिएको छ ।

राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदनले हरित, उत्थानशील र समावेशी विकास हासिल गर्न जलवायु तथा विकासका एकीकृत समाधान लागि आवश्यक पर्ने नीति एवं लगानी सम्बन्धी विभिन्न सुझाव दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here