वनका कामु सचिव डा. पौडेलको सचिवमा पदोन्नती

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयमा कामु सचिव पदमा रहेका कृषि सेवाका डा. रेवतीरमण पौडेललाई सरकारले सचिवमा बढुवा गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको बताइएको छ ।

तीन महिना अघि डा. पौडेललाई सरकारले कृषि तथा वन समुहबाट कायम मुकायम सचिवका जिम्मेवारी दिएको थियो । पदोन्नती भएका सचिव पौडेल हाल विदेश भ्रमणमा रहेका छन् । वन मन्त्रालयमा कामु सचिव भएर आएका डा. पौडेलले तीन महिनाको अवधिमा तीन पटक विदेश भ्रमण गरिसकेका छन् ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि मन्त्रालयका बरिष्ठ सहसचिवहरु डा. पौडेल, सञ्जीवकुमार कर्ण र सवनम सिवाकोटीको नाम सिफारिस गरेको थियो । सोही नाम मध्येबाट बरिष्ठका आधारमा डा. पौडेललाई सचिवमा पदोन्नती गरिएको हो ।

अघिल्लो सिफारिसमा डा.पौडेलका साथै वन मन्त्रालयका सहसचिव यमप्रसाद पोखरेल पनि समावेश भएका थिए । कृषिका सहसचिव सवनम सिवाकोटी आफू बरिष्ठ भएको तर लोकसेवाले आपूmलाई सो सूचीमा समावेश नगरी अन्याय गरेकोले लोकसेवाको सूची सुधार गरिपाउँ भनि अदालत गएकी थिइन् । अदालतले सिवाकोटीको दावी पुग्ने देखेर शिवाकोटीलाई सिफारिस सूचीमा राख्ने आदेश दिएको थियो । अदालतको आदेश पछि नयाँ सिफारिसको सूचीमा सवनम शिवाकोटी परिन भने वन समुहका पोखरेल बाहिरिएका छन् ।

अहिलेको कृषि तथा वन सेवा समुहबाट तीन जना सचिव हुने व्यवस्था गरिएको छ । बहालवाला तीन जना सचिवमा दुई जना कृषि समुहका गोबिन्द शर्मा र डा. पौडेल छन् भने एकजना दिपककुमार खराल वन समुहका सचिव छन् ।

अहिलेको सचिव सिफारिसको स्थिति हेर्दा तीन जना सचिव मध्ये सबैभन्दा अघि अहिले बढुवा भएका रेवतीरमण पौडेल २०८१ साल बैशाख २८ गते सेवा निवृत हुनेछन् । त्यसपछि २०८२ साल चैत १५ गते डा. दिपक खराल र २०८३ सालमा गोबिन्द शर्मा सेवानिवृत हुनेछन् ।

२०८१ सालमा रिक्त हुने रेवतीरमण पौडेलको ठाउँमा कृषि समुहका कर्ण वा शिवाकोटीको सचिवमा पदोन्नती हुनेछ भने २०८२ सालमा सेवा निवृत हुने डा. दिपक खरालका ठाउँमा पनि कर्ण वा शिवाकोटी मध्य एक जनाको सचिवमा बढुवा हुनेछ ।

कर्ण र शिवाकोटीपछि कृषि समुहकै बरिष्ठ सहसचिव राजेन्द्रप्रसाद मिश्र रहेका छन् । अर्का सचिव डा. गोबिन्द शर्मा २०८३ सालमा सेवानिवृत हुँदा मिश्र त्यो पदमा पदोन्नती हुने सम्भावना रहेको छ । त्यतिबेला सम्म हाल वन मन्त्रालयमा रहेका सहसचिव यमप्रसाद पोखरेल, शिव वाग्ले सेवानिवृत भइसकेका हुनेछन ।

वनको पालो आउन मुश्किल

कर्णले २०८६ सालसम्म, शिवाकोटीले २०८८ सालसम्म र मिश्रले २०८५ साल मंसिर महिना मात्र अवकाश पाउने भएकाले वन समुहको सहसचिवबाट आगामी २०८५ साल मंसिरभन्दा अगाडि कुनै पनि व्यक्तिको सचिवमा पदोन्नती नहुने स्थिति देखिएको छ ।

शिव वाग्ले लगायतका सहसचिव सेवानिवृत भइसके पछि सबैभन्दा बरिष्ठ हुने डा. राधा वाग्ले २०८५ साल पछिको सचिवका लागि दावेदार भएपनि उनको राजीनामा स्वीकृत भइसकेको हुँदा अब वन समुहबाट सञ्जिबकुमार राईको पालो आउने देखिएको छ । यद्धपी कृषि समुहकै मनिता बैद्य सञ्जिव राई भन्दा सिनियर भएकाले मिश्रको सेवानिवृत पछि पनि केही महिनाका लागि मनिता वैद्यको पदोन्नती हुन सक्ने सम्भावना रहेको छ ।

मनिता बैद्य सचिवमा बढुवा भए लामो अवधि भने छैन । महिला अनि आदीवासी जनजातिका मनितालाई केही महिनाका लागि सचिव दिन सक्ने सम्भावना उत्तिकै भएकाले राईले २०८५ पछि पनि सहजै सचिव पद पाउलान भन्न सक्ने अवस्था छैन । राधा वाग्लेको राजीनामा पछि डा. महेश्वर ढकालको सचिवमा बढुवा हुन सक्ने निकै सम्भावना पनि बढेर गएको छ । २०२७ साल असार ११ गते जन्मिएका ढकालले २०८५ साल असार ११ गते अवकाश पाउनेछन् ।

वन समुहबाट सचिव पदमा वहाल रहेका डा. दिपक खराल पछि हुने तीन जना सचिवमा कृषिकै बरिष्ठ सहसचिवका पालो आउने हुँदा अहिलेकै सांगठनिक संरचनामा वन समुहबाट सचिव पाउन लामो समय कुर्नु पर्ने स्थिति देखिएको छ । २०८८ सालसम्म सेवाअवधि भएका सवनम शिवाकोटी, २०९२ सम्म समयाधि भएका सञ्जिव राई र २०९७ सालसम्म जागिरे जीवन भएका लख्खा जवान कृषि समुहका प्रकाशकुमार सञ्जेल हालका वन समुहका सबै सहसचिवभन्दा निकै सिनियर भएकाले वन सेवाका जफ, पार्क, सोयल तथा रिसर्चबाट आगामी २०९० सालसम्म पनि सञ्जिव राई बाहेक अरु कसैले सचिव पाउन सक्ने स्थिति देखिएको छैन । हुन त नेपाल हो, भविष्यमा के हुन्छ भन्ने कुराको अहिले नै अड्कल गरिहाल्न सकिदैन तर पनि पछिल्ला दिनमा सिनियर सहसचिवले सचिवमा पालो पाएको दृष्टान्त देखिदैन आएको छ ।

पछिल्ला पुस्तामा सचिव हुन सक्ने स्थिति देखिएका २०३१ सालमा जन्मिएका विद्यानाथ झा र २०३४ सालमा जन्मिएका बुद्धिसागर पौडेल भन्दा अघि २०३९ सालमा जन्मिएकी कृषि समुहकी जानुका पण्डितको उपस्थितिले समेत गाह्रो नपार्ला भन्न सकिन्न ।

झण्डै आठ वर्ष सहसचिव पदमा बसिसकेकी राधा वाग्लेले आफू अझै पाँच, छ वर्षसम्म सचिव पदमा पुग्न नसक्ने देखेपछि राजीनामा दिएको हुनुपर्ने आँकलन यो जन्मकुण्डली र बढुवाकुण्डलीको विश्लेषणले थप सहयोग गर्ने गरेको छ । स्रोतका अनुसार पेन्सन पकाईसकेका वन मन्त्रालयका केही सहसचिवहरु सचिव पदमा पुग्न नसक्ने स्थिति देखिएपछि दातृ निकायमा जागिर खोज्न हिड्न थालेको पनि चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here