काठमाडौं । रसियालाई व्यापारको आधार बनाएका नेपाली मूलका व्यापारी उपेन्द्र महतोका सहोदर भाई वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । उनी जनता समाजबादी पार्टीबाट मन्त्री भएका हुन् ।
महतोसँगै जसपाले प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीमा पठाएको छ । यस अघि शिक्षा मन्त्रीमा अशोक राईले पद समाल्दै आएका छन् ।
लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा जसपाकै प्रदीप यादवले मरिहत्ते गरेका थिए । उनी यस अघि पनि वन मन्त्रालयमा बसिसकेका व्यक्ति हुन् ।
त्यसैगरी जसपाका नेता राजकिशोर यादवले पनि वन मन्त्रालयमा आउन निकै रुची देखाएका थिए । नेपाली कांग्रेसका चित्रलेखा यादवलाई हराएका राजकिशोर यस अघि सञ्चारमन्त्री बनेका थिए ।
उपेन्द्र यादव संसदीय दलका नेता बन्ना साथ नयाँ मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई दिइएको थियो । आज पार्टीको तर्फबाट दुईजना मन्त्री बनेका छन् ।
कसरी बने महतो मन्त्री
जसपाभित्र मन्त्री बन्नेको दौडधुपमा धेरै जना थिए तर मन्त्री पाउनेको संख्या निकै कम भएपछि यस पटकको मन्त्री पदमा को जाने भन्ने कुरा जसपाभित्र निकै पेचिलो बनेको थियो ।
प्रदीप यादवले अघिल्लो पटक पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गरेको र यस पटकको चुनावमा थप महत्वपूर्ण सहयोग गरेको बदलामा मन्त्री पद पुरस्कार पाउने आशामा थिए । प्रदीपकै लबिङ गरेकै कारण जसपाले चाँडो मन्त्रीको नाम दिन नसकेको हो । प्रदीपले केही डिएफओहरुलाई पनि परिचालन गरिसकेका थिए । तर उनी अन्तिम समयमा आएर पछारिए ।
राजकिशोर यादव पार्टी विभाजनमा पनि उपेन्द्रको खम्बा भएर उभिएका व्यक्ति हुन् । पछिल्ला दिनमा उपेन्द्रको राजनीतिक निर्णयको सहयात्री भएका कारण राजकिशोरलाई देखाएर यस पटक मन्त्री बनाउन नसक्ने सन्देश प्रदीपलाई पठाएका थिए । प्रदीप भन्दा राजकिशोर सिनियर नेता पनि हुन् ।
तर अन्तिम अवस्थामा न सिनियर न जुनियर । मन्त्री पदमा पुगे उपेन्द्र महतोका भाई वीरेन्द्र महतो । उपेन्द्र यादव राजकिशोरका निर्णयमा अडिग रहन सकेनन् ।
उपेन्द्र यादव र बिनोद चौधरीको सम्बन्ध निकै राम्रो छ । बिनोद चौधरीले उपेन्द्र यादवलाई काठमाडौँमा बस्नका लागि एउटा अपार्टमेन्ट समेत दिएका छन् । उपेन्द्र यादवले चौधरीलाई हरेक सुखदुखका साथी भनेर चिनाउने गरेका छन्, आफ्नो सर्कलमा ।
बिनोद चौधरीले तराईका केही सामुदायिक वन, निकुञ्ज र मध्यवर्ति क्षेत्रमा सोलार प्लान्ट राख्न पहिले देखि नै खोजिरहेका थिए । पर्सा राष्ट्रिय निकुञ्जभित्रका भाटा माथिको चुरेमा रहेको मन्दिरसम्म केबलकार ल्याउने चौधरीको योजना पहिले देखि नै छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रको जंगल फडानी गरी सोलार प्लान्ट राख्नका लागि चौधरीले अरु व्यक्तिलाई यस अघि पनि परिचालन गरिरहेका थिए । चौधरीले आँटेका केही निकुञ्जभित्र पर्ने जलविद्युत् आयोजनाको काम पनि अधुरो र अपुरो रहेका छन् ।
वन मन्त्रालयबाट यी सबै काम गर्न सक्ने आफु अनुकुलको व्यक्ति खोजी रहेका बेला विनोद चौधरीले उपेन्द्र यादवलाई समाते पछिल्लो पटक । उपेन्द्र महतो र बिनोद चौधरी पनि व्यापारिक साथी हुन् । महतोले नेपालमा सुरु गरेका व्यापार व्यवसायको बारेमा चौधरीसँग सरसल्लाह तथा सहयोग लिने गरेका छन् । कतिपय व्यापारमा चौधरी र महतोको साझेदारीता पनि रहँदै आएको छ ।
उपेन्द्र यादव निर्वाचित भएर आइसकेपछि पहिलो पटक विनोद चौधरीले वन मन्त्रालयबाट गर्न बाँकी कामको दवाफार कथा सुनाए । अघिल्ला मन्त्री तथा सचिवले टोकन माग्दै गरेको तर काम फत्ते गर्ने बचन र विश्वास नदिँदा टोकन नबुझाएका कारण काम हुन नसकेको चौधरीको गुनाशो उपेन्द्र यादवसँग थियो ।
यादवले चौधरीको कुरा सुनेपछि काम गर्न सहज पात्रको खोजीमा थिए । यसैबीच विनोद चौधरीको आग्रहमा नयाँ बानेश्वरस्थित एभेष्ट होटलमा उपेन्द्र यादव, विनोद चौधरी र उपेन्द्र महतोको बीच भेटवार्ता भयो । तीन जनाको त्यो बसाईले काम गर्न सहज पात्रको रुपमा वन मन्त्रीमा उपेन्द्र महतोका भाई वीरेन्द्रप्रसाद महतोलाई छनौट ग¥यो ।
वीरेन्द्र यस अघि पनि उपेन्द्र महतोको जोडबलमा जसपाबाट टिकट पाएर चुनाव लडेका व्यक्ति हुन् । अघिल्लो पटक उनले हारे भने यो पटक सिराहा क्षेत्र नम्बर ४ बाट जित्न सफल भए । वीरेन्द्र महतोका पूर्वको काकडभित्तादेखि बाँकेसम्म एक दर्जनभन्दा बढी पेट्रोल पम्प छन् । उनको खाना पकाउने ग्यास उद्योगमा पनि लगानी छ ।
माछापुच्छ«े बैँकका खास मालिक नै वीरेन्द्र महतो हुन् । उनका धेरै जसो सिमेन्ट उद्योगमा लगानी रहेको छ । अब सिमेन्ट उद्योगले खानी प्रयोग गर्ने सम्बन्धमा उनै महतोको दस्तखत चल्ने भएको छ । उपेन्द्र महतोले नेपालमा लगानी वीरेन्द्रकै नाउँबाट गर्ने गरेका छन् ।
पछिल्ला दिनमा जलविद्युत् क्षेत्रमा आक्रामक रुपमा लगानी गर्न थालेका उपेन्द्र महतोका व्यापारीक साझेदार विनोद चौधरीले सोलार प्लान्टको भविष्य देखाएका छन् । यो व्यापारमा चौधरी आफु देखा परेका छैनन् तापनि महतोको भन्दा उनकै लगानीका ठूलो अपेक्षा गरिएको छ ।
प्रदीप आउट, राजकिशोर आउट अनि वीरेन्द्रप्रसाद महतो इन । यता डा. दिपक खराल आउट अनि रेवतीरमण पौडेल इन । अबका केही समय वन तथा वातावरण मन्त्रालयका लागि स्वार्थ मिल्ने समुहको मिलनको ठाउँ हुनेछ । अघिल्लो पटक मन्त्री र सचिवले काम गर्न नसकेका कुरा फत्ते गर्न चन्द्र ढकाल समुहले लबिङ गरेर ल्याएका सचिव रेवतीरमण र उपेन्द्र महतो, उपेन्द्र यादव र विनोद चौधरीको बैठकबाट नाम पारित भएका मन्त्री वीरेन्द्रप्रसाद महतोले गर्न सक्ने कामको थोरै फेरिस्त बजारमा आइसकेको छ तर पनि ठूला उद्योगी व्यापारीले वन क्षेत्र प्रयोग गरेर गर्न सक्ने नयाँ काम के कति थप सिर्जना हुँदै जानेछन्, त्यो भने हेर्न बाँकी नै छ ।