भण्डारीको लागि वन मन्त्रालय दाताको ढोका चाहार्दै

काठमाडौँ । केबलप्रसाद भण्डारीलाई जलवायु परितर्वन सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व शिखर सम्मेलन (कोप २८) मा भाग लिने व्यवस्था मिलाउन वन मन्त्रालयलाई हम्मे हम्मे परेको छ । भण्डारीलाई कोपको मेलामा दर्शन गराउन अहिले वन मन्त्रालयको सिंहदबारदेखि दुबईमा रहेको टीम रातोदिन लाग्दा पनि व्यवस्थापन हुन सकेको छैन ।


भण्डारी हाल श्रम रोजगार मन्त्रालयमा सचिव छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण दलमा समाहित हुन निकै कोशिस गरेका थिए तर असम्बन्धित मन्त्रालय भनेर उनको अनुरोधको कुनै सुनुवाई भएन । अनि उनी वन मन्त्रालयतिर धाउन थाले ।


नोभेम्बर २६ तारेखसम्म उनको मनोनयन हुनसकेको छैन, कारण उनलाई दुबईसम्म आउने जाने टिकट र सुविधा सम्पन्न होटलको व्यवस्थापन गर्ने दाता भेटिइसकेको छैन । हवाई टिकट र होटल खर्चको व्यवस्थापन भए मनोनयन तत्कालै गर्ने मनस्थितिमा मन्त्रालयका बसेको छ ।


श्रम मन्त्रालय कोपसँग असम्बन्धित मन्त्रालय भएकाले दान दिने सक्ने सबै संस्थाहरुले ‘जस्टिफाई’ नहुने भन्दै वन मन्त्रालयका अधिकारीको अनुनय विनयलाई लत्याइदिएका छन् । तर पनि वन मन्त्रालयका पदाधिकारी केबल भण्डारीका लागि दान दिन सक्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थादेखि लिएर नेपालका साना झोलामा छाप र लेटरप्याड बोक्ने संस्थाको ढोका चाहारिरहेका छन् ।


पछिल्लो चरणमा वन मन्त्रालयबाट भण्डारीका लागि हवाई टिकट र सुविधासम्पन्न होटल, दैनिक खर्च सहितको व्यवस्था मिलाइदिन इसिमोडलाई कडा खालको पत्राचार गरिएको छ । इसिमोडका एक बरिष्ठ अधिकारीले भने, गर्न सक्ने जति वन मन्त्राललाई हामीले पहिल्यै नै सहयोग गरिसक्यौँ । हरेक दिन थप सहयोगका लागि इमेल लेख्ने र फोन गर्ने काम भयो, फोन उठाउने कि न उठाउने ? इमेलको रेस्पोन्स गर्ने कि नगर्ने ? बडो समस्या परिरहेको छ । वन मन्त्रालयको पछिल्लो इमेल त अनुरोध होइन, धम्कीपूर्ण भाषा प्रयोग भएको छ ।


भण्डारी यस अघि राष्ट्रिय योजना आयोगमा हुँदा पटक पटक कोपमा भाग लिएर अन्तर्राष्ट्रिय हवाई उडानको सुखमय यात्रा र विदेशी भूमिमा रहर गरेर सयर गरेका सचिव हुन् । उनको यो सयर गर्ने बानी अझै नटुटेकोले असम्बन्धित मन्त्रालय भएर पनि कोपमा जाने रहर गर्दा वन मन्त्रालयमा हाल उनको व्यवस्थापनका लागि रुवाबासी चलेको छ । वन मन्त्रालयका केही पदाधिकारी दुबई पुगेपनि काम भने सचिव भण्डारी,केही सांसदको हवाई टिकट र होटल खर्चको व्यवस्थापनमा जुट्ने गरेका छन् ।


यता प्रधानमन्त्री हरेक दिनजसो कोपमा योद्धा जस्तै नेपाल लड्न तयार छौँ भन्ने अभिव्यक्ति दिइरहेका छन् । उता वन मन्त्रालय आफ्ना प्राविधिक कर्मचारीको सहभागिताको सट्टा सिभिल सोसाईटी, महिला, दलित, आदिबासी भन्दै सरकारी सिफारिसमा दुबईमा कुम्भमेला गर्न आतुर देखिएको छ ।


मन्त्रालयका मानिसको निहित स्वार्थका कारण सिभिल सोसाइटी भन्दै अनावश्यक भीड जोड्ने र असम्बन्धित मन्त्रालयका कर्मचारीलाई बोकेर सायद वन मन्त्रालय कोप २८ मा जुलुस निकाल्ने तयारी गर्दै छ जस्तो लागेको छ, कोपमा सहभागी हुँदै ‘नेगोसिएसन’मा दख्खल वातावरण क्षेत्रमा कार्यरत विज्ञले टिप्पणी गरे ।

उनले भने, यति फितलो त कुनै वर्ष पनि देखिएन, जान पर्ने प्राविधिक मान्छे भन्दा भनसुनका भरमा मन्त्रालयले आफ्ना स्वार्थमा मानिस बोकेर लानुको के अर्थ राख्छ, अर्काे कुरा उच्च तहमा बस्नेहरुले डोनरको पाउ मलेर जान लाज पनि नलागेको देख्दा यो पटक अचम्मै लागेको छ । तिनै डोनरलाई बेला बेला गालि नि गर्ने अनि कोपमा जान खुट्टा, पाउ मल्ने प्रवृति वन मन्त्रालयको राम्रो भएन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here