काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो पटक एन्टी स्नेक भेनम उत्पादन उद्योगलाई सर्प पाल्ने अनुमति दिएको छ ।
निकुञ्जका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाले सुनसरीको वराहक्षेत्र नगरपालिका–३ मा रहेको एन्टी स्नेक भेनम उत्पादन उद्योगलाई पहिलो पटक सर्प पाल्ने अनुमति दिएको बताए । सो उद्योगले स्थापना भएको १२ वर्षपछि सर्प पाल्ने अनुमति पाएको हो ।
अनुमति पाएपछि उद्योगबाट पोलिभेनम र मोनोभेनम दुबै किसिमका औषधी उत्पादन गरिने योजना
निजी क्षेत्रको लगानीमा नेपालमै पहिलो पटक स्थापना भएको एन्टी स्नेक भेनम उत्पादन उद्योगले सरकारबाट अनुमति नपाउँदा स्नेक भेनम उत्पादनको काम अगाडि बढ्न सकेको थिएन । विभागले स्नेक भेनम उत्पादनका लागि सर्प पाल्ने अनुमति दिएसँगै उद्योग सञ्चालनमा सहज हुने भएको छ । नेपालमै पहिलो पटक सर्प पाल्ने अनुमति पाएको उद्योगका सञ्चालक लक्ष्मीप्रसाद फुयाँलले बताए।
उद्योगबाट स्नेक भेनम उत्पादन सुरु गर्न बाटो खुलेको उनले बताए । उद्योगमा प्रदेश सरकार र सङ्घीय सरकारले समेत सहयोग र सहकार्य गर्ने सञ्चालक फुयाँलले दावी गरेका छन् । अनुमति पाएपछि उद्योगबाट पोलिभेनम र मोनोभेनम दुबै किसिमका औषधी उत्पादन गरिने योजना पनि उनले सुनाए । टोक्ने सर्प पहिचान नभएको खण्डमा पोलिभेनम औषधी उपयोगी हुन्छ । यसले सबै किसिमका सर्पको टोकाइमा काम गर्छ भने सर्पको पहिचान भएमा मोनोभेनम औषधी बढी उपयोगी हुन्छ ।
हाल नेपालमा बर्सेनि भारतबाट करिब ६० हजार भायल भेनम नेपाल आयात गर्ने गरिएको सरकारी तथ्याङ्क छ । आयातलाई प्रतिस्थापन गर्दै निर्यात गर्नका लागि उद्योग स्थापना गरिएको फुयाँलले दावी गरेका छन् । भारतको सर्वोच्च अदालतले सर्पदंशको उपचारमा प्रयोग हुने औषधी एन्टी स्नेक भेनम भारतमै पर्याप्त नभएको भन्दै निर्यात नगर्न आदेश दिएको थियो ।
आदेशपछि नेपालमा उक्त औषधीको अभाव भएको थियो । केही समयअघि देखि स्वास्थ्य मन्त्रालयले एन्टी स्नेक भेनमको उत्पादनको सम्भाव्यता अध्ययन थालेको थियो । भ्याक्सिनको अभावमा तराई क्षेत्रमा बर्सेनि सर्पको टोकाइबाट सयौँ मानिसले अकालमै ज्यान गुमाउँदै आएका छन् ।