काठमाडौँ । नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न क्षेत्रीय तथा विश्वव्यापी रुपमा जलवायु वित्तमा लगानी गर्न विकसित मुलुकलाई आग्रह गरेको छ ।
दक्षिण कोरियामा सञ्चालन भइरहेको १५ औँ विश्व वन सम्मेलनमा नेपालले आफ्ना धारणा सार्वजनिक गर्दै सहभागी विकसित मुलुकहरुलाई यस्तो आग्रह गरेको हो ।
वन अतिक्रमण हुने, खण्डिकरण हुने तथा उजाड हुने प्रवृतिलाई रोक्दै वनको संरक्षण र सम्वद्र्धनबाट हरित रोजगारीमा वृद्धि गरी जलवायु परिवर्तन अनुकुलन र न्यूनीकरणका कामहरु गर्न सकिने नेपालले सम्मेलनमा आफ्नो प्रश्ताव राखेको छ ।
नेपाली टोलीको नेतृत्व गरेर सम्मेलनमा पुगेका वन तथा वातावरण सचिव डा. पेमनारायण कँडेलका अनुसार वन संरक्षण तथा जलवायु वित्तका लागि सहयोगको मात्रा वृद्धि गर्नुपर्ने र अल्प विकसित मुलुकलाई कम व्याजदरमा लगानी बढाउन आग्रह गरिएको छ ।

विश्वका १४० भन्दा बढी मुलुकका १२ हजार भन्दा बढी संरक्षणकर्मी, वन, वनस्पतिविद्, अध्ययन अध्येता, संरक्षण साझेदार संस्था तथा सरकारी उच्च पदाधिकारीको सहभागिता रहेको सो सम्मेलनमा नेपालले यस्तो प्रश्ताव राखेको हो ।
नेपालले हालै सार्वजनिक गरेको प्राकृतिक स्रोत वनक्षेत्रले ढाकेको नक्सामा ४५ प्रतिशत वन रहेको छ । त्यो मध्य २४ प्रतिशत वन क्षेत्र संरक्षित क्षेत्रका रुपमा नेपालले संरक्षण गर्दै आइरहेको कुरालाई पनि विश्व समुदाय समक्ष नेपालले स्पष्ट राखेको छ ।
सम्मेलनमा नेपालका तर्फबाट सचिव डा. कँडेल, वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक उद्धवबहादुर घिमिरे, दिपा वलीको सहभागिता रहेको छ ।