काठमाण्डाै– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको नदीभित्र पर्ने टावर निर्माणमा पनि विवाद हुने गरेको बताएका छन् । कोसी कोरिडोर प्रसारण लाइनको रुट पर्ने धरान नगरपालिका–२० मा देखिएको समस्या समाधानको पहल गर्न सुनसरी पुगेका घिसिङले सरोकारवालासँगको भेटमा यस्तो बताएका हुन् ।
आफ्नो निजी जग्गाबाहेक स्थानीयले नदीभित्र निर्माण हुने प्रसारण लाइनका संरचनाको विरोध गर्ने गरेको उनले बताए । ‘नदीभित्र प्रसारण लाइनको संरचना निर्माण गर्नु आफैँमा जोखिमपूर्ण काम हो,’ उनले भने,‘४० मिटर गहिराईमा नदीभित्र निर्माण हुने संरचनामा समेत विवाद झिकिदिनने परम्पराले प्रसारण लाइनको निर्माणलाई अस्त व्यवस्त बनाएको छ । ’ उनले विवादकै कारण हेटौडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइनको नदीभित्र पर्ने टावर निर्माण चुनौतीपूर्ण बनेको बताए । यो प्रसारण लाइन सप्तकोसी पारी पुर्याउन नदीभित्र ७ वटा टावर निर्माण गर्नुपर्ने उनले बताए । ‘वन, निजी जग्गा हुँदै नदीमा टावर बनाउन बिरोध भएपछि प्रसारण लाइनको टावर कहाँ निर्माण गर्ने ?’ भनेर उनले प्रश्न गरे । धरान उपमहानगरपालिकाको प्रस्ताव अनुसार प्राविधिकरूपमा कोसी कोरिडोर लाइनको रुट परिवर्तन गर्न नमिल्ने घिसिङले जिकिर गरे । ‘उपमहानगपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर गरेको छैन,’ उनले भने,‘ पहिले नै तय भएको रुट परिवर्तन गर्दा यसको प्रभाव देशभर पर्छ । र अरु प्रसारण लाइन आयोजनाको पनि काम प्रभावित हुन्छ ।’ उनले प्रभावितलाई दिन सकिने सामाजिक सुरक्षाका विषयमा छलफल गर्न सकिए पनि रुट परिवर्तन गर्न नसकिने स्पष्ट पारे । नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोर प्रसारण लाइनको निर्माण अघि बढाएको छ । यो कोरिडोरमा जोड्ने गरी प्राधिकरणले निजी क्षेत्रका ५ सय १६ मेगावाटका २८ आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । पिपिए भएका यी आयोजना निर्माणको विभिन्न चरणमा छन् । प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेमा यी आयोजनाबाट उत्पादित विद्युत खेर जानेछ । करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १ सय ५ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ । दोस्रो प्याकेजमा इनरुवा, वसन्तपुर, संखुवासभाको वानेश्वर र तुम्लिङटारमा २०७७ फागुनभित्र सबस्टेसन सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ । प्रसारण लाइनको तेस्रो प्याकेज अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता निर्माण प्रक्रिया अघि बढाइएको छ । यो प्याकेजको लाइन २०७८ को मंसिरमा सम्पन्न गर्ने तालिका छ ।