बषौँ भयो सुदूरपश्चिमका आठ विमानस्थल बन्द

धनगढी । जिल्लाका सबै ठाउँमा सडक यातायातको सुविधा पुग्न नसकेको सुदूरपश्चिम प्रदेशमा केही स्थानमा अझै पनि हवाई सेवा आवश्यक भएको भएपनि विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् ।
सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरिरहेको छ । सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको गेटा र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् भने अन्य आठ विमानस्थल बन्द छन् ।
सडकले जिल्ला सदरमुकाम छोएका भएपनि हिउँदमा हिउँ पर्दा र बर्खामा बाढी पहिरो हुँदा बिरामी लगायतका अत्यावश्यक ढुवानी हुन नसक्दा यहाँका बासिन्दाले सास्ती खेप्नु परिरहेको छ । हिउँदमा हिउँ र बर्खामा बाढी पहिरोले दिनहुँ अवरुद्ध हुने यहाँका राजमार्गको विकल्पमा पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न सकिने तर्फ सरकारी निकायले खासै चाँसो देखाएको छैन । सुदूरपश्चिम आउने हरेक पर्यटन मन्त्रीले यहाँका विमानस्थल सञ्चालनमा ल्याउने बताएपनि हालसम्म खासै पहल भएको देखिदैन ।
बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दीपायल, अछामको साँफेबगर, कमलबजार, बझाङको चैनपुर, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन् ।

सञ्चालनमा रहेको बाजुराको कोल्टी विमानस्थलमा हवाईसेवा नियमित हुनसकेकोे छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायुसेवा निगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको जनाइएको छ । सुदूरपश्चिमका विभिन्न विमानस्थल सञ्चालनका लागि तत्कालीन मन्त्री लोकेन्द्र विष्टमगरले परीक्षण उडान शुरु गरे पनि हालसम्म उडान हुनसकेका छैनन् । सुदूरपश्चिमको क्षेत्रीय विमानस्थल सञ्चालन गर्न तत्कालीन क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले पहल गर्नुभएको भए पनि हालसम्म कार्यान्वयन भएको छैन ।
सुदूरपश्चिममा सहज हवाई यातायात सुविधा नहुँदा पर्यटन क्षेत्रको विकास हुननसकेको पर्यटन पत्रकार सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमर भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालकै सुन्दर ठाउँ खप्तडमा हालसम्म न्यून मात्रामा विदेशी पर्यटक आएका छन्, जबसम्म बन्द विमानस्थल सञ्चालन हुँदैनन्, तबसम्म पर्यटन विकास हुन सक्दैन ।”
विमानस्थलमा जहाज नउड्दा आपतकालीन बिरामी तथा अन्यत्र लैजानुपर्ने गर्भवती महिलाले ज्यान गुमाउनु पर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here