काठमाडौँ । एक पटक २५ लाख देखि ३५ लाख रुपियाँ प्रतिकिलो बिक्री भएको बहुमूल्य जडिबुटी यार्सा यस पटक भने भाउ नपाएर सड्ने अवस्थामा पुगेको छ ।
विशेष गरेर डोल्पा, बझाङ, दार्चुला, हुम्ला लगायतका जिल्लामा यार्सा संकलन हुने गरेको छ । गत वर्ष नेपालमै प्रति किलो २२ लाख रुपियाँमा बिक्री भएको यार्सा यस पटक १५ लाख रुपियाँमा पनि बिक्री नहुने स्थिति आएको डोल्पाका यार्सा व्यापारी किरण भोटेले बताउनुभयो ।
उता बझाङमा पनि यार्सागुम्बो संकलन गरेको व्यापारी बजार भाउ नपाएर चिन्तित भइरहेका छन् । हुम्लाका मोहन रोकायाले पनि यस वर्ष यार्साबाट उठ्नै नसक्ने गरी घाटा लाग्ने भन्दै हुम्ला छाडेर काठमाडौँ आएको बताउनुभयो ।
सबैभन्दा राम्रो गुणस्तरको यार्सा डोल्पाको मानिन्छ । यस वर्ष डोल्पाको यार्सागुम्बोले पनि राम्रो मूल्य पाउन सकेको छैन । व्यापारी किरण भोटेको अनुसार डोल्पाबाट केही सामान तिब्बततिर गएको भएपनि अझै डोल्पामो यार्सा बिक्री हुन बाँकी रहेको छ ।
तिब्बतका व्यापारीले प्रतिकिलो १२ देखि १३ लाख रुपियाँसम्म मात्र दिन तयार भएका कारण विक्री गर्न नसकिएको उहाँले बताउनुभयो ।
काठमाडौँलाई केन्द्र बनाएर ठूलो मात्रामा यार्साको व्यापार गर्दै आएको महेश स्थापितका अनुसार यस पटक चीनमा पनि त्यति माग नभएकाले र भाउ पनि कम भएकाले यस पटक नेपाली यार्साका व्यापारीले राम्रो भाउ पाउन नसकेको हो । हरेक वर्ष नेपालबाट कम्तिमा ३० देखि ४० क्वीन्टल यार्सा संकलन हुने गरेको छ । त्यो सबै यार्साको बजार चीन तिब्बत मानिएको छ ।
काठमाडौँ बसेर यार्साको व्यापार गर्ने अधिकांश व्यक्तिले जिल्ला तहमा यार्सा संकलन गर्दा खासै लगानी लगाएको देखिदैन । जिल्ला तहमा संकलन गर्दा साना साना व्यापारीहरुले मिलेर सर्वसाधारणबाट यार्सा खरिद गर्ने र चीन तथा काठमाडौँमा रहेका व्यापारीसँग एकमुष्ट रुपमा डिल गर्ने गरेकोे पाइन्छ । तर यसपटक जिल्ला तहमा संकलन गर्ने साना तिना समुहका व्यापारीले गाउँलेबाट महंगोमा खरिद गरेका तर काठमाडौँका व्यापारीले त्यो अनुसारको भाउ नदिने भएपछि जिल्ला तहमा संकलन भएको ठूलो मात्राका यार्सा जिल्लामा थन्किन पुगेको छ ।
जिल्लामा तहमा गाउँलेबाट खरिद गर्दा प्रति किलो २० लाख रुपियाँसम्म परेको बताइएको छ भने हुम्ला, बझाङ र दार्चुलाको यार्सामा १५ देखि १७ लाख रुपियाँसम्ममा व्यापारीले खरिद गरेका छन् । अहिले काठमाडौँमा मुश्किलले १५ लाख रुपियाँ भन्दा बढी भाउ नपाएपछि साना व्यापारीहरु चिन्तित भएका छन् ।
कतिपय ठाउँमा त गाउँलेहरुले समेत अहिले सम्म यार्साको रकम नपाएको गुनाशो व्यक्त गरेका छन् । यार्सा पाउने जिल्लामा कम्तिमा अहिले पनि १० देखि १५ क्वीन्टलसम्म यार्सा संकलन भएको व्यापारीहरुले बताएपनि राजस्व संकलन गर्ने निकाय डिभिजन वन कार्यालयहरुबाट भने त्यति मात्रामा संकलन इजाजत लिएको भने देखिदैन ।