तनहुँ जलविद्युतको निर्माण प्रारम्भ

काठमाडौँ । तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण प्रक्रिया सुरु भएको छ । १४० मेगावाट क्षमताको आयोजनाको दोसं्रो प्याकेजअन्तर्गत सम्झौता भएबमोजिम चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडले विद्युत् गृह निर्माणको प्रक्रिया सुरु गरेको हो ।
उक्त कम्पनीले हाल कार्यालय स्थापनालगायतको काम गरिरहेको आयोजनाका साइट इञ्चार्ज विदुर अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ठेक्का सम्झौता भएबमोजिम काम थाल्न कम्पनीका कामदार परिचालन भएका छन् ।” आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेजका लागि सिनो हाइड्रोसँग तिन अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि कर बाहेक)मा सम्झौता भएको थियो ।

अधिकारीका अनुसार आयोजनाको प्रशारण लाइन निर्माणका लागिसमेत ठेकेदार कम्पनीले काम थालि सकेको छ । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।
नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि भने केही अन्यौल सिर्जना भएको छ । मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले नै पहिलो प्याकेजको संरचना निर्माणका लागि सम्झौता गरेको थियो । सरकारले मेलम्चीमा सिएमसीसँगको ठेक्का तोडिसकेको छ ।
काममा फर्कने भन्दै स्वदेश फर्किएका कम्पनीका ठेकेदार हालसम्म फर्किएका छैनन् । उक्त कम्पनीलाई आगामी फागुन ६ गतेसम्मको समय दिइएकाले उक्त समयसम्म कुर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ । “उहाँहरुलाई दिएको समयावधि बाँकी छ, त्यसबेलासम्म कुर्छौ , त्यसपछि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौ”, अधिकारीले भन्नुभयो ।
पहिलो प्याकेजको संरचना निर्माणका लागि सिएमसीसँग रु २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहित)मा खरिद सम्झौता भएको थियो ।

आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका ५ वेतेनीको ५० रोपनी जग्गाका लागि रु सात करोड ५० लाख मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ । प्रभावित ६२ घरपरिवारमध्ये ४३ ले मुआब्जाबापतको रकम बुझेका छन् । आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि रु आठ करोड विनियोजन गरेको छ ।
आयोजनाको जलाशयमा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिएको हो । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रो पावर लिमिटेडबीच विद्युत् खरीद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहँुको रिसिङ गाउँपालिका–१ मा कार्यालय तथा कर्मचारी आवासगृह निर्माण सम्पन्न भइसकेको छ ।
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी)ले १५० मिलियन अमेरिकी डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८४ मिलियन अमेरिकी डलर, युरोपियन इन्भेस्टमेन्ट बंैक (इआइबी)ले ८५ मिलियन अमेरिकी डलर र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले ८७ मिलियन अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here